कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० प्रतियोगिताको मिति यसअघि नै तोकिए पनि विभिन्न कारण सर्दै आएको थियो ।
What you should know
काठमाडौँ — कोशी प्राइड लिग (केपीएल) तेस्रो संस्करण जेठ ९ बाट सुरु हुने भएको छ । कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० प्रतियोगिताको मिति यसअघि नै तोकिए पनि विभिन्न कारण सर्दै आएको थियो । आयोजकले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै नयाँ मिति घोषणा गरेको हो ।
प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृत दिएको छ । यसअघि प्रतियोगिता फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो । तर, विभिन्न कारण प्रतियोगिता दुई पटक सरेको थियो । पछिल्लो पटक विश्वमा भइरहेको युद्धको प्रभावका कारण प्रतियोगिताको मिति सार्नुपरेको जनाउँदै आयोजक कोशी प्राइडका निर्देशक अफजल हुसैनले अब भने तोकिएकै समयमा हुने जनाए ।
क्यानका सचिव पारस खड्काले विभिन्न कारण सर्दै आएको प्रतियोगिता अब भने घोषित समयमै आयोजना हुने प्रस्ट पारे । उनले भने, ‘केपीएलले नेपाली खेलाडीहरूलाई एउटा राम्रो प्लाटफर्म दिएको छ, व्यस्त अन्तर्राष्ट्रिय तालिकाका बाबजुद यो प्रतियोगिताले मिति पाउनु नै ठूलो विषय हो ।’ नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिका र स्कटल्यान्डसँग घरेलु मैदानमा खेलिएको भोलिपल्टै केपीएल सुरु हुनेछ ।
पत्रकार सम्मेलनमै आकाश खड्का प्रवर्द्धक रहेको एभरेस्ट थन्डर्सले मुख्य प्रायोजकमा सिलिकन एजुकेसन नेटवर्कलाई भित्र्याएको छ । सम्झौतापत्रमा खड्का र सिलिकन एजुकेसनका डाइरेक्टर विवशशमशेर कुँवरले हस्ताक्षर गरे ।
प्रतियोगितामा विभिन्न सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । हरेक टिमले ड्राफबाट तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । अक्सनमा समावेश २ सय ३२ खेलाडीमध्येमा ८४ खेलाडीले भाउ पाएका थिए । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १ सय ३ खेलाडी रहेका थिए ।
एभरेस्ट थन्डर्सले राष्ट्रिय टिमका करण केसी, सोमपाल कामी, युवराज खत्री र रञ्जित कुमारलाई ड्राफबाट ल्याउँदा अक्सनबाट नारायण जोशी, आकाश त्रिपाठी, दीपेन्द्र रावत, रोशन विश्वकर्मा, पुजन विक, सलाहुद्धिन खान, सहिल पटेल, प्रज्वल थापा, लोकेश जोशी, भोलाकुमार शाह, शिभम तिवारी र रवीन्द्र मण्डललाई अनुबन्ध गरेको छ ।
धर्म न्यौपानेको स्वामित्वमा रहेको नमुना ब्लास्टर्सले राष्ट्रिय टिमका नन्दन यादवसहित गौरव कटवाल र प्रकाश कार्कीलाई ड्राफबाट लिएको छ । यस्तै, अक्सनबाट अमित श्रेष्ठ, विपिन रावल, किरणकुमार ठगुन्ना, दयानन्द मण्डल, विपिन आचार्य, सन्दीप ढुंगाना, प्रतीक श्रेष्ठ, अभिशेष गौतम, राजु विश्वकर्मा, प्रभात राई, सचिन लेखक र नितेशकुमार यादव छन् ।
कल्पित ढकालको इटहरी आदर्श जायन्ट्सले कुशल मल्ल, भूपाल लुइटेल, विनोद भण्डारी, दीपेश कँडेल र रूपेश सिंहलाई ड्राफ्टबाट अनुबन्ध गर्दा अक्सनबाट अर्जुन कुमाल, अमरसिंह रौटेला, युनिशविक्रम सिंह ठकुरी, सुनील धमला, नरबहादुर सार्की, समीर कार्की, आशुतोष घिरैया, श्रवण यादव, आकाश सर्राफ, विकल्प आचार्य, रितेश रोय र समीर तिमल्सिना भित्र्याएको छ ।
अनुराग प्रमानिकको बिर्तामोड हिट्सले राष्ट्रिय टिमका अलराउन्डर गुल्शन झा, शेर मल्लसँगै दिनेश अधिकारी, भीम सार्की र अर्जुन साउदलाई ड्राफबाट अनुबन्ध गर्दा सन्तोष यादव, दीपक डुम्रे, विकास आग्री, रवीन्द्र जंगशाही, विवेक केसी, विशाल सुस्लिङ, सार्थक धिताल, अशोक धामी, राजेन्द्र बम, आयुष न्यौपाने, रूपक बराल र रोशन साउदलाई अक्सनबाट अनुबन्ध गरेको छ ।
संजोक राणा मालिक रहेको पूर्वेली सुपर किंग्स ड्राफबाट ललित राजवंशी, मोहम्मद आदिल आलम, अर्जुन घर्ती, तृतराज दास, दिवान पुन र भरत कार्कीलाई अनुबन्ध गर्दा अक्सनबाट नरेन साउद, रिजन ढकाल, मयन यादव, आदिल खान, विशाल पटेल, इमरान शेख, चिराग शाह, दीपक पासवन, सोनु शर्मा, अभिषेक कार्की, मोहम्मद समीर र अभिषेक शर्मालाई टिममा समावेश गरेको छ ।
मोहम्मद सेराज अन्सारी प्रवर्द्धक रहेको बीएन कोशी अर्नासले फिर्दोस अन्सारी, सुजन थपलिया, सन्तोष कार्की र भुवन कार्कीलाई ड्राफमा तानेको छ । शंकर राना, विपिन खत्री, हिमांशु दत्त, दीपेश श्रेष्ठ, शाकिव हक, सुमित श्रेष्ठ, कमल गुप्ता, लोकेन्द्रबहादुर चन्द, जोसक खड्का, कमललुद्धिन मियान, शिभान यादव र अफन ताहिरलाई अक्सनबाट अनुबन्ध गरेको छ ।
गोर्खा एभेन्जर्सबाट कोशी प्राइड लिगमा शाहव आलम, बसिर अहमद, पवन सर्राफ, रसिद खान र देव खनाल खेल्दै छन् । सबै खेलाडी ड्राफ्टका हुन् । अक्सनबाट टोलीले दीपक बोहरा, आकाश चन्द, शुभ कंसकार, दुर्गेश गुप्ता, अजयकुमार चौहान, उत्तम रंगु थापामगर, सन्दीपबहादुर रजाली, तुलबहादुर थापा, विक्रम खड्का, सन्दीप मौर्या, राजु भुसाल र रौनक श्रीवास्तवलाई लिएको छ ।
