चौथो कोहलपुर गोल्डकपमा आयोजकको विजयी सुरुआत

कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा आयोजकले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोलले हराएको थियो ।

वैशाख १९, २०८३

रूपा गहतराज

The host gets off to a winning start in the fourth Kohalpur Gold Cup.

नेपालगन्ज — आयोजक रेसिङ सहारा क्लबको जितसँगै चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता शनिबार सुरु भएको छ ।

कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा आयोजकले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोलले हराएको थियो ।

आयोजकका लागि पहिलो हाफमा विदेशी खेलाडी पेपे र फागुराम थारुले गोल गरेका थिए । खेलको ८८ औं मिनेमा पञ्चकोशीका नुसहारा उप्रेतीले एक गोल गरे । म्यान अफ द म्याच रेसिङ सहारा क्लबका पेपे घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे । नगरप्रमुख नगरप्रमुख आचार्यले चार वर्षदेखि सञ्चालन हुँदै आएको यस गोल्डकप कोहलपुरको पहिचान बनेको बताए ।

उप–प्रमुख संगीता सुवेदीले कोहलपुरमा ग्रासरुट फुटबल, वडा गोल्डकपदेखि नगरस्तरीय हुँदै राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताइन् ।

 प्रतियोगितामा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब सहभागी छन् । आइतबार जस्ट जोन एफसी र रोयल फुटबल क्लब कर्णाली प्रदेशबीच खेल हुने आयोजकले जनाएको छ । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।

रूपा

Link copied successfully