संयोग र नविता टेबलटेनिस च्याम्पियन

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार पुरुष सिंगलको फाइनलमा संयोगले एभीएमका रुविन महर्जनलाई ८–११, १७–१५, ११–९, ६–११, ११–९ को सेटमा हराएर उपाधि जिते ।

वैशाख १९, २०८३

कान्तिपुर संवाददाता

Sanyog and Navita become table tennis champions

काठमाडौँ — नेपाल पुलिस क्लबका खेलाडीद्वय संयोग कपाली र नविता श्रेष्ठ दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार पुरुष सिंगलको फाइनलमा संयोगले एभीएमका रुविन महर्जनलाई ८–११, १७–१५, ११–९, ६–११, ११–९ को सेटमा हराएर उपाधि जिते । पुलिसका गनञ्जय दाहाल र भिजन टेबलटेनिस एकेडेमीका हिमाल विष्ट तेस्रो भए ।

महिला सिंगल्समा नौ पटककी राष्ट्रिय च्याम्पियन नविताले एभीएमकी इभाना थापालाई ११–८, १२–१४, ११–६, ७–११, १५–१३ को सेटमा हराइन् । एभीएमकी वियंका राई र भिजनकी योङगी पौडेल संयुक्त तेस्रो भए ।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगलमा काठमाडौं महानगरपालिका वडा २५ का महेश श्रेष्ठ पहिलो, एभीएमका राजकुमार शाही दोस्रो तथा इखाछेंका मुकेश महर्जन र काठमाडौंका उमेश मानन्धर तेस्रो भए । ५० वर्षमाथि पुरुष सिंगलमा एभीएमका जय महर्जनले स्वर्ण, नक्सालका रक्त मानन्धरले रजत तथा खोल्चा पुखुका नदिमरत्न शाक्य र इखाछेंका राजेन्द्र वज्राचार्यले कांस्य जितेका थिए ।

भेट्रान ६० वर्षमाथि पुरुष सिंगलमा काठमाडौं–२ का अशोक शर्मा प्रथम, होप्सका राजन सुब्बा द्वितीय तथा खोल्चा पुखुका प्रकाश धाक्वा र इखाछेंका शरदमान श्रेष्ठ तृतीय भए ।

यू–१६ मिक्स युथमा एभीएमका आरभ मल्ल पहिलो, इखाछेंका सोयम महर्जन दोस्रो, इखाछेंका सुप्रिन्स महर्जन र खोल्चा पुखुका निर्भिक शाक्य तेस्रो भए ।

ललितपुर महानगरपालिका–११ को मुख्य प्रायोजनमा खोल्चा पुखु खेलकुद उपसमितिद्वारा आयोजित प्रतियोगिताका विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न ६ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । सबै स्पर्धामा पदक जित्नेले कुल २ लाख रुपैयाँ पुरस्कार पाए ।

कान्तिपुर

Link copied successfully