पुलिसकी उषा भण्डारी र रुकुम पश्चिमका फाहद राजा सर्वोत्कृष्ट खेलाडी
काठमाडौँ — रुकुम पश्चिम भलिबल क्लब पहिलो पटक प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा च्याम्पियन बनेको छ । शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको पुरुषतर्फको फाइनलमा रुकुम पश्चिमले सर्वाधिक पाँच पटकको च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।
प्रतियोगिताको यो १० औं संस्करण हो । महिलातर्फ नेपाल पुलिस क्लबले उपाधि रक्षा गरेको छ । फाइनलमा पुलिसले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराएको थियो । पुलिसले यो प्रतियोगिता चौथो पटक जितेको हो ।
महिला र पुरुषको दुवै विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाएका थिए । उपाधिसँगै पुलिस क्लब लगातार तेस्रो पटक काभा क्लब च्याम्पियनसिपका लागि छनोट भएको छ । पुलिसले एनभीए च्याम्पियनसिप, शेरबहादुर खड्का स्मृति भलिबल र टाइगर कपको फाइनलमा न्यु डायमन्डविरुद्ध बेहोरेको हारको बदलासमेत लिएको छ ।
न्यु डायमन्डको अपराजित यात्रामा पूर्णविराम लगाउने क्रममा पुलिसले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा भने न्यु डायमन्डले पुनरागमन गरेर २५–१७ को नतिजा निकाल्यो । यसपछि खेल १–१ को रोमाञ्चक अवस्थामा पुग्यो । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा पुलिसले २५–२३ ले आफ्नो पक्षमा पार्दै खेलमा २–१ को अग्रता बनायो । चौथो सेटमा एकपक्षीय स्कोर गर्दै पुलिसले २५–१९ ले सेट आफ्नो पक्षमा पारे उपाधि हत्यायो । विधागततर्फ चार उपाधि पुलिसले जित्यो । सर्वोत्कृष्ट खेलाडीमा पुलिसकी उषा भण्डारी चुनिइन् । विधागतमा लिबेरोमा सलिना श्रेष्ठ (न्यु डायमन्ड), सेटरमा प्रगति नाथ (न्यु डायमन्ड), सर्भरमा कोपिला राना (पुलिस), स्पाइकरमा लक्ष्मी चन्द (पुलिस) र ब्लकरमा सुमित्रा रेग्मी (पुलिस) उत्कृष्ट भए । उत्कृष्ट प्रशिक्षकमा पुलिसका रुपेशकुमार विष्ट चुनिए ।
खचाखच दर्शकले भरिएको कभर्डहलमा पुरुषतर्फको फाइनल रोमाञ्चक बनेको थियो । पाकिस्तानी खेलाडीहरूको साथ पाएको रुकुम पश्चिमले पहिलो सेट २९–२७ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट २५–२१ ले र तेस्रो सेट ३२–३० ले आफ्नो पक्षमा पार्दै रुकुम पश्चिमले पहिलो पटक उपाधि जित्यो । पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी रुकुम पश्चिमका फाहद राजा घोषित भए । विधागतमा लिबेरोमा राजन दर्लामी (रुकुम पश्चिम), सेटरमा एडनान खान (रुकुम पश्चिम), सर्भरमा मुराद जेसान (हेल्प नेपाल), स्पाइकरमा अफाक खान (रुकुम पश्चिम) र ब्लकरमा चिरञ्जीवी खड्का उत्कृष्ट भए । प्रशिक्षकमा विजेता टिमकै तेजविक्रम खड्का उत्कृष्ट बने । दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ६० हजार तथा विधागत उत्कृष्टले जनही ३० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।
