पञ्चकन्या रूपन्देही सुपरलिग: न्यु होराइजनको सहज जित

होराइजनले बुटवल राइनोजलाई ७ विकेटले पराजित गरेको हो ।

वैशाख १९, २०८३

माधव ढुंगाना

Panchakanya Rupandehi Super League: New Horizons secure easy win

भैरहवा — भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा न्यु होराइजन क्रिकेट क्लबले सहज जित हात पारेको छ । होराइजनले बुटवल राइनोजलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ५० ओभरमा २३ ओभर खेल्दै अलआउट भएर जम्मा ७६ रन मात्रै बनायो ।

न्यु होराइजनका प्रिन्स पालले ७ ओभर बलिङ गर्दै ३ मेडनसहित ६ रन खर्चेर ६ विकेट हात पारे । महेश भर र विप्रसन केसीले २–२ विकेट हात पारे । बुटवल  राइनोजका उत्तम थापा मगरले ३२ र शिव कुँवरले १५ रन बनाए । बुटवलका अधिकांश खेलाडीले दोहोरो अंकमा रन बनाउन सकनेनन् । ४ खेलाडी शून्य रनमै आउट भए ।  

जवाफी ब्याटिङ गरेको न्यु होराइजनले १४ ओभर २ बलमा ३ विकेट गुमाएर ७७ रन बनाउदै सहजै जित निकाल्यो । उसको जितमा संगम पाण्डेले अविजित २९, अमर मिश्राले २१ र ड्रस सुनारले १२ रनको योगदान गरे । बलिङमा बुटवल राइनोजका सुमित थापाले २ र प्रमिस पुनले १ विकेट लिए । खेलमा प्रिन्स पाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाा प्राप्त गरे । 

रुपन्देही क्रिकेट संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले १ लाख १ र उपविजेताले ५० हजार १ रुपैयाँ प्राप्त गर्ने छन् ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully