प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजनको खेल सञ्चालन गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक संस्थाको छ ।
भैरहवा — पञ्चकन्या रूपन्देही सुपर लिगको दोस्रो चरणमा ‘ए’ डिभिजनको प्रतियोगिता शुक्रबार भैरहवामा सुरु हुनेछ । यसअघि सुपर लिगको पहिलो चरणमा ‘बी’ डिभिजनको स्पर्धा १७–३० चैतसम्म भएको थियो ।
रूपन्देहीमा रहेका १२ ‘ए’ डिभिजन क्रिकेट टिमको सहभागिता रहने प्रतियोगिताको आयोजकमा रूपन्देही क्रिकेट संघ रहेको छ । संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ जेठसम्म हुने जनाएको छ । मुख्य प्रायोजक पञ्चकन्या समूहका प्रबन्ध निर्देशक देवेन्द्र साहु र आयोजक संघका अध्यक्ष हरिबहादुर थापाबीच बिहीबार टाइटल स्पोन्सरका लागि सम्झौता भएको छ ।
निर्देशक साहुले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहकार्य गर्ने क्रममा यस प्रतियोगितालाई साथ दिएको बताए । पञ्चकन्या ग्रुपले समाजमा खेलकुदको विकासमा सहयोग गर्ने उद्देश्य राखेको बताउँदै निर्देशक साहुले भने, ‘क्रिकेट विकासमा रूपन्देही क्रिकेट संघको योगदान प्रशंसनीय रहेकाले साझेदारी गरेका हौं ।’
प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजनको खेल सञ्चालन गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक संस्थाको छ । संघका अध्यक्ष थापाले अन्तर्राष्ट्रियजगतमा नेपाल अब क्रिकेटको माध्यमबाट पनि परिचित हुन थालिसकेको जनाए ।
अध्यक्ष थापाले रूपन्देहीमा क्रिकेटको बढ्दो लोकप्रियता र गतिविधिका कारण प्रतियोगिता सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन सहज हुँदै जान थालेको बताए । उनले अब ठूला क्रिकेट प्रतियोगीता आयोजना गर्न रूपन्देही क्रिकेट संघ आफैं सक्षम हुँदै जान थालेको बताए ।
नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव एवं रूपन्देही क्रिकेट संघका पूर्व अध्यक्ष प्रशान्तविक्रम मल्लले ५० ओभरमा ‘ए’ र ‘बी’ डिभिजनका खेल आयोजना गर्ने रूपन्देही पहिलो जिल्ला भएको बताए । विजेतालाई १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ प्राप्त गर्नेछन् ।
म्यान अफ द सिरिजले १५ हजार, वेस्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माउन्ट एभरेस्ट कत्था मिलले विजेता र बिके ज्वेलर्सले उपविजेताको पुरस्कार प्रायोजन गरेका छन् ।
प्रतियोगितामा वेस्टर्न, बुद्ध, तिलोत्तमा, जितगढी रोगल, मेलबर्न, लुम्बिनी खुकुरी, देवदह, तिरुपति, न्यु होराइजन र बुटवल राइनोज क्रिकेट क्लबको सहभागिता रहने संयोजक प्रथम पराजुलीले जानकारी गराए । बुद्ध र देवदह ‘बी’ डिभिजनबाट बढुवा भएका क्लब हुन् ।
