बागमती गोल्डकपको सेमिफाइनलमा नव जनजागृती

बागमती–४ स्थित सहिद स्मृति रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराएको हो ।

वैशाख १८, २०८३

प्रताप विष्ट

New awareness in the semi-finals of the Bagmati Gold Cup

हेटौँडा — त्रिभुवन आर्मी क्लबलाई हराउँदै सिमराको नव जनजागृती बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । 

बागमती–४ स्थित सहिद स्मृति रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराएको हो । निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आर्मीका लागि कप्तान भरत खवासले खेलको ८औं मिनेटमा र जनजागृतीका सन्तोष गोङ्बाले दोस्रो हाफको अतिरिक्त समय ९३औं मिनेटमा गोल गरे ।  

नव जनजागृतीका लागि टाइब्रेकरमा सुदिप लामा, रन्जय चौधरी, विक्रम थोकर, सन्तोष गोङ्बाको प्रहार गोलमा परिणत भयो भने समीर नेपालीको प्रहार गोलपोष्टमा ठोकिएर फर्कियो । आर्मीका लागि दिनेश हेन्जन, पेम्बा दोर्जे लामा र जिलेस्पिजंग कार्कीको प्रहार गोलमा परिणत भए । आर्मीका विमल पाण्डे र सुजन खत्रीका प्रहार सेभ गरेका सिमराका गोलरक्षक युनेश चौधरीले रोके । प्लेयर अफ दि म्याच चौधरी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्ने छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully