लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा महिला सिंगल्समा शुक्रबार नविताले पुलिसकै सुस्मिता खड्कालाई ११–८, ९–११, ११–६, १३–११ ले र वियन्काले भक्तपुरकी दिया देउलालाई ११–३, ११–९, ११–९ ले पराजित गरे ।
काठमाडौँ — नेपाल पुलिस क्लबकी नविता श्रेष्ठ, एभीएमकी वियन्का राई, एभीएमकी इभाना थापा र भिजन टेबलटेनिस एकेडेमीकी योङ्गी पौडेल दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा महिला सिंगल्समा शुक्रबार नविताले पुलिसकै सुस्मिता खड्कालाई ११–८, ९–११, ११–६, १३–११ ले र वियन्काले भक्तपुरकी दिया देउलालाई ११–३, ११–९, ११–९ ले पराजित गरे । इभानाले भक्तपुरकी दीक्षा दाहाललाई ११–२, ११–४, ११–२ ले र योङगीले पुलिसकी रविना महर्जनलाई ११–६, ७–११, ११–९, १३–११ ले हराए । सेमिफाइनलमा इभानाले योङगी र नविताले वियन्काविरुद्ध खेल्नेछन् ।
ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजनमा खोल्चा पुखु खेलकुद उपसमितिले आयोजना गरेको प्रतियोगितामा २ सय खेलाडी प्रतिस्पर्धी छन् । विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ ।
ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोग तथा स्पिन इभेन्ट्स प्रालिको व्यवस्थापनमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
