वर्षाले प्रभावित खेलमा ओमान डकवर्थ लुइस पद्धतिका आधारमा नेपाललाई १ सय २ रनले हराउन सफल
काठमाडौँ — ओमान क्रिकेट विश्वकप लिग २ का लागि काठमाडौं आउँदा नेपालविरुद्ध टोलीका कोही न कोही खेलाडीले उच्च प्रदर्शन गरिरहेका हुन्छन् । सन् २०२० मा काठमाडौं आएर ओमानले लिग २ को शृंखला ‘क्लिन स्विप’ गर्दा अकिब इल्याजले अविजित १ सय ९ रन बनाउनुका साथै ४ विकेट लिएका थिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार नेपालविरुद्ध ओमानका कप्तान जतिन्दर सिंहले यो भूमिका लिएकै जस्तो भयो । उनको शतकमा ओमान वर्षाले प्रभावित खेलमा नेपाललाई डकवर्थ लुइस पद्धतिका आधारमा १ सय २ रनले हराउन सफल भयो । नेपालविरुद्ध ओमानले लिग २ को कीर्तिपुरमा भएको सबै खेल जितेको छ ।
जतिन्दरको इनिङ्स टेलिभिजनमा देखाइने हाइलाइट्स जस्तै थियो । नेपाली बलरलाई कुनै मौका नदिएका जतिन्दरले ९६ बल खेल्दा १५ चौका र ५ छक्का प्रहार गरे । जतिन्दरको १ सय ३० रनप्रेरित ओमानले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३ सय ५ रन बनायो । जबाफमा नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाई १ सय ५५ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो, जतिखेर नेपाल डकवर्थ लुइस पद्धतिका आधारमा १ सय २ रनले पछाडि रह्यो ।
जतिन्दरको इनिङ्स टेलिभिजनमा देखाइने हाइलाइट्स जस्तै थियो । नेपाली बलरलाई कुनै मौका नदिएका जतिन्दरले ९६ बल खेल्दा १५ चौका र ५ छक्का प्रहार गरे । उनले ९० रन बाउन्ड्रीबाटै बटुले । उनले ७३ बलमै शतक पार गरे । ओमानी ब्याटरकै एकदिवसीय अन्तर्राष्ट्रियमा यो उच्च स्कोर पनि हो । उनी ३५ औं ओभरमा आउट हुँदा ओमानको स्कोर १ सय ९२ रन थियो ।
पेभेलियन फर्किएपछि उनको हातले ओमानका भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णीको खुट्टा छोएका थिए । ‘आजको यो सफलतामा प्रशिक्षक कुलकर्णीको धेरै ठूलो हात छ, उनले टिमलाई राम्रो लयमा ल्याएका छन्, हामीले नेपाल आउनु अघि राम्रो तयारी गरेका थियौं, नामिबिया भ्रमणदेखि नै हाम्रो राम्रो भइरहेको थियो,’ जतिन्दरले भने, ‘हामी पहिला ब्याटिङ गर्ने एउटा योजनासाथ आएका थियौं, त्यसमा सफल भयौं र ३ सय माथिको स्कोर बनाउन सक्यौं ।’
जतिन्दर १ सय ३० रनमा हुँदा सोमपाल कामीले कठिन रिटर्न क्याच मिस गरेका थिए । त्यसको अर्को बलमा सोमपालले उनलाई बसिर अहमदबाट क्याचआउट गराए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो जतिन्दरको पाँचौं शतक हो र व्यक्तिगत उच्च स्कोर पनि । सन् २०२२ मा उनले पपुवा न्युगिनीविरुद्ध लिग २ मै अविजित १ सय १८ रन बनाउनु यसअघि उनको उच्च स्कोर थियो । नेपालविरुद्ध उनको दोस्रो शतक हो । लिग २ को पछिल्लो सर्कलमा उनले २०२१ मा मस्कटको घरेलु मैदानमा नेपालविरुद्ध ६२ बलमा १ सय ७ रन बनाएका थिए ।
जतिन्दरले आशिष ओडेडारासँग मिलेर ओमानलाई दरिलो सुरुआत दिलाउनेक्रममा पहिलो विकेटमा ८० रन जोडे । सन्दीप लामिछानेले १५ औं ओभरमा ओडेडारालाई आउट गराएपछि यो साझेदारी टुटेको थियो । ओडेडाराले ४८ बमा १–१ चौका र छक्कासाथ २३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ‘डेब्यु’ गरिरहेका नदिम खानलाई १ रनमा बोल्ड गरे ।
हमाद मिर्जाले ४७ बलमा ३० रन बनाए । ४ चौका हानेका उनलाई दीपेन्द्रले आउट गरे । आर्यन विष्ट र जितेन रमानन्दीले पाँचौं विकेटमा ४३ बलमा ५२ रनको साझेदारी गरे । विष्टलाई सन्दीपले ३५ रनमा बोल्ड गरे । उनले ३५ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । विनायक शुक्ला १७ बलमा २३ रन बनाई आउट भए । रमानन्दीले ४३ बलमा ४३ रन जोड्दा ४ चौका र १ छक्का प्रहार गरे । सोमपालले नेपालबाट सबैभन्दा बढी ४ विकेट लिए । उनले ९ ओभरमा ५९ रन खर्चे । सन्दीप र दीपेन्द्रले २–२ विकेट लिए । सन्दीपले ओभरमा १० ओभरमा २४ र दीपेन्द्रले ९ ओभरमा ५६ रन खर्चे ।
यस शृंखलामा ओमानको यो पहिलो जित हो । नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो । ओमान भने पहिलो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो । ओमान २६ खेलमा ३१ अंक जोडेर तेस्रो स्थान र नेपाल २२ खेलमा १४ अंक जोडेर सातौं स्थानमा छ । आठ राष्ट्रसम्मिलित लिग २ का शीर्ष चार सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान छ । यस हारले नेपालको शीर्ष चारमा पर्ने सम्भावना झन् कठिन भएको छ ।
ओमानको इनिङ्स पारिलो घाममा भएको थियो भने नेपाली ब्याटिङ सुरु हुनु अघि नै बादलले आकाश ढाकेर ठूलो वर्षाको संकेत गरिरहेको थियो । प्रतिकूल मौसमको अवस्था हेरेर चाँडो २० ओभर फालेर नतिजा ल्याउने आशामा ओमानले दोस्रो ओभरदेखि स्पिन आक्रामक लगाएको थियो । देव्रेहाते स्पिनर सकिल अहमदले दोस्रो ओभरको पहिलो बलमै कुशल भुर्तेललाई १ रनमा एलबीडब्लु आउट गरे । अर्का ओपनर आसिफ शेखले २५ बलमा २ चौकासहित १९ रन बनाए ।
कप्तान रोहित पौडेल १० र बसिर १ रनमा आउट भए । भीम सार्की २८ रनमा आउट भए । भीमले ५६ बलमा ३ चौका प्रहार गरे । भीमले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो एक हजार रन पूरा गरेका छन् । आरिफ शेख १४ रनमा आउट भए । दीपेन्द्रले अर्को एउटा अर्धशतकीय इनिङ्स खेले । ३६ औं ओभरमा आउट हुनुपूर्व उनले ६२ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
खेल रोकिँदा गुलशन झा १७ बलमा २ चौकासहित १४ र सोमपाल ८ बलमा २ रन लिएर क्रिजमा थिए । ओमानबाट नदिमले ३ विकेट लिए । उनले १० ओभरमा ४२ रन खर्चे । सकिलले ८ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ तथा मोहम्मद इमरान र वासिम अलीले १–१ विकेट लिए ।
‘बिहान जसरी विकेटले खेलिरहेको थियो, त्यसअनुरुप हामीले ओमानलाई २०–२५ रन कम बनाउन दियौं जस्तो लाग्छ, ओमानले दिएको लक्ष्य पछ्याउन सकिने खालकै थियो, तर हाम्रो सुरुआत राम्रो हुन सकेन,’ सोमपालले भने, ‘मौसमले पनि हामीलाई साथ दिएन, वर्षा हुने सम्भावना देखेर २० ओभर विकेट नगुमाई खेल्ने लक्ष्य थियो । विकेट बचाउने प्रयासमा हामीले रन पनि बनाउन सकेनौं ।’
