त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जवाफमा आएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाई १ सय ५५ रन बनाएको समयमा वर्षाले खेल रोकिएको थियो, जति खेर नेपाल डकवर्थ लुइस पद्धतिका आधारमा १ सय २ रनले पछाडि रह्यो ।
काठमाडौँ — ओमानले वर्षाले प्रभावित क्रिकेट विश्वकप लिग २ खेलमा बुधबार नेपाललाई डक लुइस पद्धतिका आधारमा १ सय २ रनले पराजित गरेको छ । कप्तान जतिन्दर सिंहको सानदार शतकबाट प्रेरित ओमानले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभर खेली ८ विकेट गुमाई ३ सय ५ रन बनाएको थियो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जवाफमा आएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाई १ सय ५५ रन बनाएको समयमा वर्षाले खेल रोकिएको थियो, जति खेर नेपाल डकवर्थ लुईस पद्धतिका आधारमा १ सय २ रनले पछाडि रह्यो ।
खेल रोकिँदा गुलशन झा १७ बल खेली २ चौका प्रहार गर्दै १४ र सोमपाल कामी ८ बल खेली २ रन बनाई क्रिजमा थिए । यस शृंखलामा ओमानको यो पहिलो जित हो । नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गरेको थियो । ओमान भने पहिलो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।
ओमान २६ खेलमा ३१ अंक जोडि तेस्रो स्थानमा र नेपाल २२ खेलमा १४ अंक जोडी सातौं स्थानमा छ । सन् २०२० मा पछिल्लो पटक काठमाडौं आएर लिग २ को म्याच खेल्दा पनि ओमानले नेपालसँगको दुवै खेल जितेको थियो । यसपटक पनि ओमानसँग नेपालको केही लागेन ।
प्रतिकूल मौसमको अवस्था हेरेर चाँडो २० ओभर फाली नतिजा ल्याउने आशामा ओमानले दोस्रो ओभरदेखि स्पिन आक्रामक लगाएको थियो । देब्रेहाते स्पिनर सकिल अहमदले दोस्रो ओभरको पहिलो बलमै कुशल भुर्तेललाई १ रनमा एलबीडब्लु आउट गरे । अर्का ओपनर आसिफ शेखले २५ बल खेली २ चौका प्रहार गर्दै १९ रन बनाए ।
कप्तान रोहित पौडेल १० र बसिर अहमद १ रनमा आउट भए । भीम सार्की २८ रनमा आउट भए । उनले ५६ बल खेल्दै ३ चौका प्रहार गरे । आरिफ शेख १४ रनमा आउट भए । दीपेन्द्रले अर्को एउटा अर्धशतकीय इनिङ्स खेले । ३६ औं ओभरमा आउट हुनुपूर्व उनले ६२ बल खेली ७ चौका र १ छक्का प्रहार गरे ।
ओमानबाट नदिम खानले ३ विकेट लिए । उनले १० ओभरमा ४२ रन खर्चे । सकिलले ८ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ तथा मोहम्मद इमरान र वासिम अलीले १–१ विकेट लिए ।
यसअघि जतिन्दरले ९६ बलमा १ सय ३० रन बनाएपछि ओमान ठुलो स्कोर बनाउन सफल भएको थियो । ओमानी ब्याटरको एकदिवसीय अन्तराष्ट्रियमा यो उच्च स्कोर पनि हो ।
नेपाली बलरलाई कुनै मौका नदिएका जतिन्दरले १५ चौका र ५ छक्का प्रहार गरे । उनले ९० रन बाउन्ड्रीबाटै बटुलेका थिए । उनी ३५ औं ओभरमा आउट हुँदा ओमानको स्कोर १ सय ९२ रन थियो । उनी १ सय ३० रनमा सोमपाल कामीले कठिन रिटर्न क्याच मिस गरेका थिए, त्यसको अर्को बलमा सोमपालले उनलाई बसिर अहमदबाट क्याच आउट गराए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको पाँचौं शतक हो र व्यक्तिगत उच्च स्कोर पनि । २०२२ मा उनले पपुवा न्यु गिनीविरुद्ध लिग २ मै यसअघि अविजित १ सय १८ रन बनाउनु यसअघिको उनको उच्च स्कोर थियो । नेपालविरुद्ध यो उनको दोस्रो शतक हो । लिग २ को पछिल्लो सर्कलमा उनले २०२१ मा मस्कटको घरेलु मैदानमा नेपालविरुद्ध ६२ बलमा १ सय ७ रन बनाएका थिए ।
जतिन्दरले आशिष ओडेडारासँग मिलेर ओमानलाई जोडदार सुरुआत दिलाउने क्रममा पहिलो विकेटमा ८० रन जोडे । सन्दीप लामिछानेले १५ औं ओभरमा ओडेडारालाई आउट गराएपछि यो साझेदारी तोडे । ओडेडाराले ४८ बल खेली समान १ चौका र छक्काका साथ २३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ‘डेब्यु’ गरिरहेका नदिम खानलाई १ रनमा बोल्ड गरे ।
हमाद मिर्जाले ४७ बलमा ३० रन बनाए । चार चौका प्रहार गरेका उनलाई दीपेन्द्रले आउट गरे । आर्यन विष्ट र जितेन रमानन्दीले पाँचौं विकेटमा ४३ बलमा ५२ रनको साझेदारी गरे । विष्टलाई सन्दीपले ३५ रनमा बोल्ड गरे । उनले ३५ बल नै खेली ३ चौका र १ छक्का प्रहार गरे ।
विनायक शुक्ला १७ बलमा २३ रन बनाई आउट भए । रमानन्दीले ४३ बलमा ४३ रन बनाउनेक्रममा ४ चौका र १ छक्का प्रहार गरे । सोमपालले नेपालबाट सबैभन्दा बढी ४ विकेट लिए । उनले ९ ओभरमा ५९ रन खर्चे । सन्दीप र दीपेन्द्रले २–२ विकेट लिए । सन्दीपले १० ओभरमा २४ र दीपेन्द्रले ९ ओभरमा ५६ रन खर्चे ।
