टोलीलाई शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
काठमाडौँ — छैटौं एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जितेको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ ।
टोलीलाई शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
चीनको सान्यामा भएको अप्रिल २३ देखि २७ तारिखसम्म भएको बिच गेम्सको महिला कबड्डीमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो ।
समूह 'बी’ मा नेपालले चाइनिज ताइपेई, थाइल्यान्ड र बंगलादेशलाई हराएर विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएपछि कांस्य पदकमा सीमित भएको हो ।
टोलीमा मानमति विष्ट (कप्तान), अनुजा कुलुङ राई (उपकप्तान), रबिना चौधरी, सिर्जना थारु, मीना नेपाली र नानुमाया पराजुली छन् । प्रशिक्षकमा रतिया राजवंशी छन् । टोलीसँगै अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा पनि स्वदेश फर्किएका छन् ।
चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । त्यतिबेला मीना र नानुमायाबाहेक चारै खेलाडी टोलीमा थिए ।