जुम्ला खेलकुद : प्रशिक्षक र खेलाडी अभावमा खुम्चिँदै

पूर्वाधार विकासमा करोडौं खर्चिने पालिकाले लाख मात्रै खेलकुद क्षेत्रमा खर्चिए जुम्ला खेलकुदमय बन्ने जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपाने बताउँछन् ।

वैशाख १६, २०८३

डीबी बुढा

Jumla Sports: Shrinking due to lack of coaches and players

What you should know

जुम्ला — जुम्लास्थित जिल्ला खेलकुद विकास समिति लामो समयदेखि प्रशिक्षकविहीन छ । केही अवकाश भइसकेका र केही खेलकुद परिषद‍्ले पठाउन नसकेका कारण प्रशिक्षकको अभाव भएको हो । 

अहिले न जिल्लामा खेलकुद प्रशिक्षक छन्, न त खेलाडीहरू नै । खेलकुद क्षेत्र सुस्ताउँदै जान थालेको छ । जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार एक जना कराँतेका प्रशिक्षकबाहेक सबै प्रशिक्षकको पद रिक्त छ । कराँतेका प्रशिक्षक खड्क मल्ल ब्याडमिन्टन खेलाडी हुन् । 

प्रशिक्षक अभावले कुनै पनि खेलकुदका क्रियाकलाप हुन सकिरहेका छैनन् । जसले गर्दा जिल्लास्तरीय टिम बनाएर प्रतिस्पर्धा गर्न सकिने अवस्था छैन । कार्यालय प्रमुख न्यौपानेले खेलकुद विकास समितिमा ६ जनाको दरबन्दी भए पनि ५ जना प्रशिक्षक पद रिक्त रहेको बताए । अहिले जिल्ला फुटबल संघ जुम्लाले आफ्नै प्रशिक्षक तोकेको छ । 

पटक–पटक खेलकुद परिषदमा प्रशिक्षक माग गरिएको भए पनि सुनुवाइ नभएको उनले बताए । ‘जुम्लामा प्रशिक्षक अभाव छ । खेलकुदका क्रियाकलाप चलाउन कठिन छ,’ उनले भने, ‘कर्णालीका धेरै जिल्लामा यस्तै अवस्था छ ।’ 

कराँतेका प्रशिक्षक मल्लसँग एक जना पनि खेलाडी छैनन् । जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्डमा गएर खेल खेलाउने बाहेकको काम पनि छैन । एथ्लेटिक्स प्रशिक्षक तथा विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया र भलिबल प्रशिक्षक बरमबहादुर महतले अवकाश लिइसकेका छन् । जिल्ला खेलकुद विकास समिति प्रशिक्षकविहीन बन्नु दुःखद भएको खेलप्रेमीहरू बताउँछन् । 

जिल्लामा हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड हुनुपर्ने हो । गत वर्ष हिमा गाउँपालिका बाहेक कसैले आयोजना गरेनन् । दुई वर्षअघि तातोपानी गाउँपालिकाले जिल्लास्तरीय खेलकुदको आयोजना गर्‍यो । तर प्रशिक्षक नहुँदा हरेक वर्ष आयोजना गर्नुपर्ने यो प्रतियोगिता पनि हुन सकिरहेको छैन । अहिले न खेलकुद विकास समितिमा प्रशिक्षक छन्, न त जिल्लास्तरीय खेलाडी नै । उल्टै प्रतिभा भएका राम्रा खेलाडी पनि ओझेलमा पर्ने गरेका छन् ।

कर्णाली प्रदेश सरकारले जिल्लास्तरीय समिति गठन गर्‍यो । अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य–सचिवमा संगीता आचार्य नियुक्त भए । तर उनीहरूको पूरै कार्यकाल विवादमा बित्यो ।

तिला गाँउपालिकाका भलिबल खेलाडी प्रभु बुढाले अहिले दुर्गम क्षेत्रमै खेलकुद हुने नगरेको बताए । ‘पहिले हरेक बस्तीमा भलिबल खेल भइरहन्थ्यो,’ उनले भने, ‘अहिले त गाउँघरमा खेलकुद क्रियाकलाप शून्यजस्तै छ ।’

जुम्लाका आठ स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३२ करोडको बजेट ल्याए । तर खेलकुद क्षेत्रमा रकम नै छुट्याएनन् । पूर्वाधार अभावकै कारण जुम्लामा नियमित खेलकुद प्रतियोगितासमेत हुन सकेका छैनन् । लामो समयदेखि सुस्ताएको खेल क्षेत्रलाई चलायमान बनाउन ‘वार्षिक खेलकुद क्यालेन्डर’ बनाउन लागिपरेको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख न्यौपानेले जानकारी दिए । 

जुम्लाका आठ पालिकाले थोरै भए पनि खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनमा बजेट छुट्याउनुपर्ने खेल जानकारहरू बताउँछन् । तर, कसैले चासो देखाएको पाइँदैन । विश्व कीर्तिमानी धावक रोकायाले जुम्लाको खेल क्षेत्र नराम्ररी प्रभावित बनेको बताए । 

‘जिल्लामा खेलकुद पूर्वाधार नै छैन । नियमित प्रतियोगिता पनि हुँदैनन् । नियमित अभ्यास गर्ने ठाउँको अभाव उस्तै छ,’ उनले भने, ‘निर्माण हुन लागेका संरचना पनि अलपत्र छन् । खेलाडीलाई सामान्य चना–अण्डा खानेसम्म बजेट छैन । अनि कसरी खेल क्षेत्रको विकास हुन्छ ?’

बजेट अभावले खेल सम्भावना ओझेलमा पर्दै गएको हुँदा सबैको समन्वय र सहकार्यमा नियमित प्रतियोगिता गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख न्यौपानेले सबैको समन्वय र सहकार्यमा जुम्लालाई खेलकुदको हब बनाउन सकिने सम्भावना रहेको बताए । 

पूर्वाधार विकासमा करोडौं खर्चिने पालिकाले लाख मात्रै खेलकुद क्षेत्रमा खर्चिए पनि जुम्ला खेलकुदमय बन्ने उनी बताउँछन् । ‘धेरैले त चासो नै दिएका छैनन्,’ प्रमुख न्यौपानेले भने, ‘स्रोत नभए पनि खेल क्षेत्रलाई चलायमान बनाउने अठोट भने लिएको छु ।’ 

बजेट अभावकै कारण खेलकुद विकास समितिकै आडमा निर्माणाधीन भलिबल मैदानमा प्यारापिट निर्माण अलपत्र परेको छ । जिल्लामा राम्रो खेलकुद मैदान पनि छैन ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully