प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५, दोस्रो हुनेले १ लाख ११ हजार १११ रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र, मेडल प्राप्त गर्ने छन् ।
पाल्पा — पाल्पाको तानसेनमा न्यू युथ युनियन कप क्लबस्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको मंगलबार भएको उद्घाटन खेलमा रुपन्देहीको सूर्यमुखी फुटबल क्लबले फर्साटिकर फुटबल क्लबलाई २–० गोल गर्दै विजयी सुरुवात गरेको छ । सूर्यमुखीका लागि शम्भु घर्ती र सुनिल थापाले गोल गरेका थिए ।
प्रतियोगितामा प्लेयर आफ दि म्याच बनेका सूर्यमुखीका सुनिललाई तानसेन नगरपालिकाका–६ का वडाध्यक्ष सागरमान महर्जनले २ हजार ५ सय रुपैयाँ प्रदान गरेका थिए ।
स्थानीय स्तरमा खेलकुदको विकास तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजक न्यू युथ युनियन क्लबका अध्यक्ष तामबहादुर कुमालले बताए ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद गतिविधिमा थप उत्साह ल्याउन प्रतियोगिता महत्वपूर्ण हुने बताए ।
प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासीका १२ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले १ लाख ५५ हजार ५५५, दोस्रो हुनेले १ लाख ११ हजार १११ रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र, मेडल प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडीले ८ हजार, उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षकले समान ५/५ हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले २ हजार ५ सय रुपैयाँ पाउने छन् ।
