नगर कप भलिबल : महिलातर्फ हेटौंडा–५ र पुरुषतर्फ हेटौंडा–१९ च्याम्पियन

मंगलबार भएको महिलातर्फको फाइनल खेलमा हेटौंडा–५ ले वडा नं १२ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो भने पुरुषतर्फ हेटौंडा उपमहानगरपालिका–१९ ले वडा ११ लाई ३–२ को सेटमा स्तब्ध पारेको हो ।

वैशाख १५, २०८३

प्रताप विष्ट

City Cup Volleyball: Hetauda-5 and Hetauda-19 are champions in the women's and men's categories, respectively.

हेटौंडा — हेटौंडामा सञ्चालन भएको नगर कप भलिबल प्रतियोगितामा महिलातर्फ हेटौंडा उपमहानगरपालिका–५ र पुरुषतर्फ हेटौंडा उपमहानगरपालिका–१९ च्याम्पियन बनेका छन् । 

मंगलबार भएको महिलातर्फको फाइनल खेलमा हेटौंडा–५ ले वडा नं १२ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । वडा–५ ले वडा–१२ लाई २५–१७, २५–२२ र २५–४ को सोझो सेटमा हराउँदै उपाधि सहित ५० हजार रुपैयाँ जितेको हो । उपविजेता वडा १२ ले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ । महिलातर्फ हेटौंडाका ७ वटा वडाले प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी पुरुषतर्फ हेटौंडा उपमहानगरपालिका–१९ ले वडा ११ लाई ३–२ को सेटमा स्तब्ध बनाएको हो । वडा १९ ले वडा ११ लाई २५–२३, २०–२५, २५–१९, ९–२५, २५–१० को सेटमा हराएको हो । पुरुषतर्फको फाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक बनेको थियो । पुरुषतर्फ १० वटा वडाको सहभागिता थियो । पुरुषतर्फको विजेता हेटौंडा– १९ ले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता हेटौंडा–११ ले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । 

प्रतियोगिताका विजेता, उपविजेता र विधागत उत्कृष्टलाई हेटौंडा–११ का वडाध्यक्ष जुना दाहाल, १९ का वडाध्यक्ष नरराज सुवेदी, ५ का वडाध्यक्ष सुशील घिमिरे, आयोजक लगायतले पुरस्कार वितरण गरेका थिए । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजना तथा हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । हेटौंडा–४ हुप्रचौरमा वैशाख १२ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully