यूएईले क्रिकेट विश्वकप लिग २ मा सोमबार ओमानविरुद्ध २५ रनको महत्त्वपूर्ण विजय हात पारेको हो ।
काठमाडौँ — यूएईले क्रिकेट विश्वकप लिग २ मा सोमबार ओमानविरुद्ध २५ रनको महत्त्वपूर्ण विजय हात पारेको छ । लिग २ मा यूएईको यो छैटौं जित हो । त्यसका बावजुद पनि टोली आठ राष्ट्रसम्मिलित प्रतियोगिताको अंक तालिकामा २१ खेलबाट १२ अंक लिएर पुछारमै छ ।
लिग २ को शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान छ । शीर्ष चार स्थानमा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि जोगिने छ । अमेरिका २४ खेलमा ३६, स्कटल्यान्ड २८ खेलमा ३४, ओमान २५ खेलमा २९, नेदरल्यान्ड्स २४ खेलमा २८, नामिबिया २८ खेलमा २२ र क्यानडा २४ खेलमा २१ अंक जोडेर पहिलो ६ स्थानमा छन् ।
नेपाल २१ खेलमा १४ अंकसहित सातौं स्थानमा छ । नेपालले शुक्रबार यूएईलाई ३७ रनले पराजित गरेको थियो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याउनेक्रममा यूएई ४८.२ ओभरमा १ सय ६३ रनमै अलआउट भएको थियो ।
तर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा सोमबारको दृश्य फरक थियो । यूएईका आर्यन्स शर्मा र अविद उस्मानीले नै पहिलो विकेटमा १ सय ६३ रनको साझेदारी गरे । त्यो पनि ३१ ओभरभित्र । फेरि कथा उस्तै नै भयो । जब यूएईले बाँकी रहेको १९ ओभरभन्दा बढीको खेलमा १ सय ५ रनमात्र बनाउन सक्यो र टोलीले २६८/७ को स्कोर बनायो ।
उस्मानी अर्धशतक (६४) बनाएर आउट भए । उनले ७६ बल खेल्दा ४ चौका र २ छक्का प्रहार गरे । आर्यन्सले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएका हुन् । उनले १ सय २५ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरेर १ सय ५ रन जोडे । तेस्रो नम्बरमा आएका हरप्रित सिंहले ५८ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए । मध्यक्रममा मोहम्मद साहदादले २३ बलमा समान १ चौका र छक्कासहित २५ रन बनाए ।
ओमानका साह फैजलले १० ओभरमा १ मेडन राख्दै ६२ रन खर्चेर ३ विकेट, सिद्धार्थ बुक्कापटनमले १० ओभरमा ४४ रन खर्चेर २ र सकिल अहमदले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए ।
अजय कुमारले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि ओमान ४७.५ ओभरमै २ सय ४३ रनमा अलआउट भयो । अजयले एकै ओभरमा अन्तिम ३ विकेट लिएपछि ओमान जित नजिक पुगेर रोकियो । अजयले ९.५ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर सानदार बलिङ गर्दै यूएईलाई जिताए । उनले अन्तिम ३ विकेट लिएपछि ओमानका विनायक शुक्ला नन स्ट्राइक इन्डबाट ओमानको पराजय हेर्न बाध्य भए । ५८ बल खेलेका उनले समान २ चौका र छक्का प्रहार गरे । कप्तान जतिन्दर सिंह र आशिष ओडेडाराले १४ ओभरभित्र ८५ रन जोडेर ओमानलाई राम्रो सुरुआत दिलाएका थिए । जतिन्दरले ३५ बलमा ८ चौका र १ छक्कासहित ४६, ओडेडाराले ४९ बलमा ५ चौका र १ छक्कासहित ३५, मुजिबुर अलीले २४, हम्माद मिर्जाले २७ रन बनाए ।
नेपालले बुधबार ओमानको सामना गर्नेछ ।
