तेस्रो र्‍यापिड तथा ब्लिट्ज राष्ट्रिय चेस हुने

क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष रामहरि कृष्ण मानन्धरको सम्झनामा १६–१८ वैशाखसम्म तेस्रो र्‍यापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

वैशाख १४, २०८३

कान्तिपुर संवाददाता

The third Rapid and Blitz National Chess Championship will be held

काठमाडौँ — क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष रामहरि कृष्ण मानन्धरको सम्झनामा १६–१८ वैशाखसम्म तेस्रो र्‍यापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर क्षेत्रपाटी क्लबका अध्यक्ष गोपाल मालीले क्लबको वार्षिकोत्सवको अवसरमा हुने प्रतिस्पर्धाका विजेता खेलाडीलाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बताए ।

प्रतियोगिताका संयोजक गोपाल मालीले तेस्रो र्‍यापिडका विजेता खेलाडीलाई २ लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

पुरुष खुलातर्फ प्रथमले ३५ हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार र महिलातर्फ प्रथमले १० हजार, द्वितीयले ७ हजार र तृतीयले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । विभिन्न विधाका २७ खेलाडीलाई पुरस्कार दिइने छ ।

दोस्रो राष्ट्रिय ब्लिट्ज स्पर्धामा १ लाख पुरस्कारमध्ये प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ८ हजार तथा महिलातर्फ क्रमशः ५ हजार, ३ हजार र  २ हजार एवं विधागत गरी १७ खेलाडीलाई पुरस्कार दिइने जनाइएको छ ।

विधागततर्फ ५५ वर्षमाथि भेट्रान, युवा जुनियर १२, १४, १६ वर्ष मुनि, रेटेड १६ सयमुनि, १८ सयमुनि विजेतालाई पनि पुरस्कार प्रदान गरिने गोपाल मालीले बताए ।

नेपाल बुद्घिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले राष्ट्रिय र्‍यापिड तथा ब्लिट्ज बुद्घिचाल प्रतिस्पर्धामा २ सय शीर्ष खेलाडीको सहभागिता रहने बताए ।

प्रमुख निर्णायक फिडे आर्बिटर सोराज ताम्राकारले स्वीस लिग प्रणालीअन्तर्गत र्‍यापिडतर्फ ९ चरण तथा ब्लिट्जतर्फ ११ चरणका खेल हुने जानकारी गराए ।

कान्तिपुर

Link copied successfully