सोमबार मनकामनाबाट गोरखा दरबारसम्मको ४२.१९५ निर्धारित दुरी २ घण्टा ५९ मिनेटमा पूरा गर्दै गुरुङ पहिलो बनेका हुन् ।
गोरखा — मनकामना मन्दिरबाट गोरखा दरबारसम्म भएको म्याराथनमा तनहुँका सनम गुरुङ पहिलो बनेका छन् । सोमबार मनकामनाबाट गोरखा दरबारसम्मको ४२.१९५ निर्धारित दुरी २ घण्टा ५९ मिनेटमा पूरा गर्दै गुरुङ पहिलो बनेका हुन् ।
यस्तै निर्धारित दुरी ३ घण्टा १० मिनेटमा पुरा गर्दै कास्कीका सफल लामा दोस्रो, ३ घण्टा २८ मिनेटमा दुरी पूरा गर्दै कास्कीकै चेतनाथ चालिसे तेस्रो बनेका छन् । पर्वतका सन्तोष परियार चौथो र गोरखाका अन्जन पौडेलले पाँचौ बनेका छन् ।
महिलातर्फ ४ घण्टा ५१ मिनेटमा निर्धारित दुरी पार गर्दै कास्कीकी सपना गुरुङ पहिलो बनेकी छन् । ४ घण्टा ५९ मिनेटमा निर्धारित दुरी पार गरेर तनहुँका बिबिका कुमाल दोस्रो र ५ घण्टा २७ मिनेटमा दुरी पार गर्दै नवलपुरकी डोलमाया महतो तेस्रो बनेकी छन् । नवलपुरकै सुप्रिया कुमारी महतो चौथो बनेकी छन् ।
म्याराथनतर्फ महिला/पुरुष दुवैतर्फ पहिलो हुनेले ५५/५५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
म्याराथन मनकामना मन्दिरबाट सुरु भएर ताक्लुङ–तिनमाने–घैरुङ–नाम्जुङ– काउलेभंगार–बुंकोट– ढुंगगाढे–आहाले भञ्ज्याङ–बराह मन्दिर, हस्पिटलचोक–हरमटारी–बसपार्क–बिपि चौतारा–ठुलो आगन–सतिपिपल–गैरीकुवा हुँदै हनुमान थान(गोरखकाली मन्दिर)मा पुगेर टुङ्एिको थियो ।
