दिल्ली पहिलो ६ ओभरको पावरप्लेमै टोली १३–६ को स्कोरमा पुग्यो, जुन आईपीएलमा पावरप्लेमा बनेको सबैभन्दा न्यून स्कोर हो ।
What you should know
दिल्ली — जेसन हेजलउड र भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ ।
टस हारेपछि ब्याटिङमा आएको दिल्ली अरुण जेट्ली रंगशालामा १६.३ ओभरमा ७५ रनमै अलआउट भयो । आईपीएलमा दिल्लीको यो तेस्रो न्युन स्कोर हो । दिल्लीले शनिबार यही विकेटमा २ सय ६४ रन बनाएको थियो र त्यसलाई पन्जाब किंग्सले ७ बल अगाडि पूरा गरेको थियो ।
डिफेन्डिङ च्याम्पियन बेंगलुरुले ६.३ ओभरमै ७७ रन बनाएर खेल जित्यो । कप्तान देवदत्त पाडिकल १३ बलमा ३४ र विराट कोहली १५ बलमा २३ रन बनाई अविजित रहे । पाडिकलले समान ३ चौका र छक्का तथा कोहलीले १ चौका प्रहार गरे । कोहलीले टी नटराजनको बलमा लगातार दुई छक्का प्रहार गर्दै विजयी रन बटुले । सोक्रममा कोहली आईपीएलमा ९ हजार रनको आँकडा छुने पहिलो खेलाडी बने । ज्याकोब बेथल ११ बल खेली १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाई केयल जेमिसनको बलमा आउट भए ।
यसअघि दिल्लीले निकै दयनीय सुरुआत गरेको थियो । दिल्लीले ४ ओभरमा ८ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । हेजलउड र भुवनेश्वरले ३–३ विकेट लिएपछि दिल्ली पहिलो ६ ओभरको पावरप्लेमै टोली १३–६ को स्कोरमा पुग्यो, जुन आईपीएलमा पावर प्लेमा बनेको सबैभन्दा न्यून स्कोर हो ।
एक समय बेंगलुरुकै नाममा रहेको आईपीएलको सबैभन्दा कम ४९ रनको नकारात्मक कीर्तिमान दिल्लीको नाममा आउने खतरा बढेको थियो । अभिषेक पोरेलले ३० बलमा ३३, डेबिड मिलरले १८ बलमा १९ र जेमिसनले १३ बलमा १२ रन बनाएर दिल्लीको उक्त खतरा टारेका थिए ।
भुवनेश्वरले खेलको दोस्रो बलमा ‘डेब्यु’ गरिरहेका साहिल प्रकाशलाई बोल्ड गरेपछि दिल्लीका ब्याटरहरू पालैपालो आउट हुनेक्रम सुरु भयो । केएल राहुल र नितिश राना १–१, समीर रिज्भी र कप्तान अक्षर पटेल समान शून्य तथा ट्रिस्टन स्टब्स ५ रनमा आउट भए ।
हेजलउडले ३.३ ओभरमा १२ रन खर्चेर ४ र भुवनेश्वरले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । रसिख सलाम, सूयश शर्मा र क्रुनाल पाण्ड्याको नाममा १–१ विकेट रह्यो ।
