टेक्सपायर कर्पोरेट टी–१० लिगमा सोमबार पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेललाई २ रनले हराएको छ ।
काठमाडौँ — टेक्सपायर कर्पोरेट टी–१० लिगमा सोमबार पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेललाई २ रनले हराएको छ । टस जितेको क्लाउडले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ९९ रन बनायो । कप्तान सुबोध ढुंगेलले अविजित ५२, जनार्दन बञ्जाडेले १९ र रतिश श्रेष्ठले १० रन जोडे । एनसेलका अनिल महर्जनले २, अनिल भण्डारी र अंकित क्षेत्रीले १–१ विकेट लिए ।
१०० रनको लक्ष्य पछ्याएको एनसेल १० ओभरमा ६ विकेट गुमाएर ९७ रनमै सीमित भयो । समज पौडेलले अविजित ४२ र प्रज्वल प्रजापतिले २७ रन बनाए ।
क्लाउडका नविन रोकायाले १ र जुलेन महर्जनले समान १ विकेट लिए । फिल्डिङतर्फ पनि टोली निकै प्रभावशाली देखियो । क्लाउडका कप्तान सुबोध ढुंगेल म्यान अफ द म्याच घोषित भए । उनले अर्धशतक बनाएका थिए ।
दोस्रो खेलमा सुबिशुले सिप्रदीलाई ७ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको सिप्रदीले १० ओभरमा ३ विकेट गुमाई १०७ रन बनायो । प्रल्लभराज श्रेष्ठले अविजित ४९, युगेश न्यौपानेले १३ र दिपेश श्रेष्ठले १५ रन जोडे । सुबिसुका बलर हिमाल चन्द प्रभावशाली देखिए । उनले ६ रन खर्चेर १ विकेट लिए । नीराजन परियारले १ विकेट लिए ।
१ सय ८ रनको लक्ष्य पाएको सुबिसुले आक्रामक सुरुवात गर्दै ८.१ ओभरमै लक्ष्य पूरा गर्यो । विवेक कुमार यादवले ३५, दमन चन्दले अविजित ३९ रन प्रहार गरे । विष्णु धमलाले अविजित २ रन जोड्दै टोलीलाई जितसम्म पुर्याए । सिप्रदीका प्रल्लभराज श्रेष्ठले २ विकेट लिए । शैलेन्द्र नेपालले १ विकेट लिए । सुबिसुका दमन चन्द ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यस्तै, आईसिएफसी फाइनान्सले टेक्सपायरमाथि ९४ रनको जित पायो । आईसिएफसीले १० ओभरमा ३ विकेट गुमाई १ सय ४४ रन खडा गर्यो । सुभाष भण्डारीले ५०, सोमेश यादवले ३९ र सन्तोष साहले अविजित २२ रन बनाए । टेक्सपायरका सगुन वैद्यले १ विकेट लिए भने अन्य बलरहरूले महँगो स्पेल फाले । टेक्सपायर सुरुदेखि नै दबाबमा रह्यो । ८.५ ओभरमै ५० रनमा समेटियो । बसु नेपालले १६ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन् ।
आईसिएफसीका सन्तोष साह र सोमेश यादवले समान २ विकेट लिए । सन्जोग गुरुङ्ले १ र नितेश तिवारीले १–१ विकेट लिए । सोमेश ‘म्यान अफ द म्याच’ घोषित भए ।
