उपाधिसँगै एपीएफले नगद ११ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
What you should know
विराटनगर — सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको च्याम्पियन बनेको छ। झापाको भद्रपुरमा आयोजित फाइनलमा सोमबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।
उपाधिसँगै एपीएफले नगद ११ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । एपीएफलाई जित दिलाउन निर्णायक गोल रश्मिकुमारी घिसिङले गरिन्। खेलको ७२औँ मिनेटमा कप्तान अनिता बस्नेतले दिएको पासलाई डिबक्सभित्र अनमार्क रहेकी घिसिङले हेडमार्फत जाली चुमाएकी हुन्।
खेलभरि बल नियन्त्रणमा राखेको एपीएफले थप गोलका अवसर सिर्जना गरे पनि स्कोर बढाउन सकेन। आर्मीको आक्रमण पंक्ति एपीएफको बलियो डिफेन्ससामु प्रभावहीन बनेपछि उपविजेतामै सीमित भयो।
फाइनल खेलकी ‘प्लेयर अफ द म्याच’ एपिएफकी सरु लिम्बु भइन्। उनले नगद ११ हजार प्राप्त गरिन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी रेनुका नगरकोटी भइन्। उनले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार पाइन्। उत्कृष्ट गोलकिपर एपीएफकी अञ्जना राना मगर, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, उत्कृष्ट मिडफिल्डर आर्मीकी दीपा शाही, सर्वाधिक गोलकर्ता एपीएफकी रश्मिकुमारी घिसिङ र ‘राइजिङ प्लेयर’ आयोजक चन्द्रगढी युथ क्लबकी सवनम राई भइन्। उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।
वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युथ क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमी, सशस्त्र प्रहरीको एपीएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्ट्स क्लबको सहभागिता थियो।
विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि तथा मुख्य प्रायोजक ओम साई पथिभरा हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेल, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल तथा आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए।
