लन्डन म्याराथनमा केन्याका सबास्टिन सावेले उत्कृष्ट प्रदर्शनको नमुना पेस गर्ने क्रममा १ घण्टा ५९ मिनेट ३० सेकेन्डमा दौड पूरा गरे ।
लन्डन — सबास्टिन सावेले आइतबार नयाँ इतिहास रच्ने क्रममा लन्डन म्याराथन दुई घण्टाभन्दा कम समयमा दौडेका छन् । उनी म्याराथन दौड दुई घण्टामुनि दौडिने पहिलो खेलाडी पनि बने । केन्याका सावेले उत्कृष्ट प्रदर्शनको नमुना पेस गर्ने क्रममा १ घण्टा ५९ मिनेट ३० सेकेन्डमा दौड पूरा गरे ।
दौडमा शीर्ष तीन स्थानमा आउने सबैले यसअघिको विश्व कीर्तिमानलाई उछिनेका थिए । दिवंगत केल्भिन किपटुमले २०२३ को सिकागो म्याराथनमा २ घण्टा ३५ सेकेन्डको कीर्तिमान बनाएका थिए । डिफेन्डिङ च्याम्पियन रहेका सावेलाई इथोपियाका योमिफ केजचाले बलियो चुनौती दिएका थिए । तर दौडको अन्त्यतिर सावे निर्णायक प्रदर्शन गर्न सफल रहे ।
केजचा १ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा दोस्रो भए । ‘डेब्यु’ दौडमै उनको यो प्रदर्शन पनि कीर्तिमान रह्यो । युगान्डाका ज्इकोब किपलोमो २ घण्टा २८ सेकेन्डमा तेस्रो भए । दौडपछि ३१ वर्षीय सावेले भने, ‘म निकै खुसी छु र प्रसन्न अनुभव गरिरहेको छु । दौडको सुरुवात राम्रो रह्यो र यसलाई मैले अन्त्यसम्म कायम राखें । दौड जब पूरा भयो र मैले समय हेरें, खुसीको सीमा नै रहेन ।’
उनले थपे, ‘मैले यो दौडका लागि चार महिनादेखि अभ्यास गरिरहेको थिएँ । आज त्यसैको प्रतिफल पाएँ । मेरो लक्ष्य नै विश्व कीर्तिमान थियो ।’ सन् २०१९ मा केन्याका इलिड किचोगाले १ घण्टा ५९ मिनेट र ४० सेकेन्डमा म्याराथन पूरा गरेका थिए तर यसका लागि उनले विशेष जुत्ताको प्रयोग गरेका थिए र त्यो कुनै प्रतिस्पर्धा पनि थिएन । त्यसैले उनको प्रदर्शनलाई कीर्तिमान मानिएन । सावेले भने लन्डन म्याराथनका लागि एडिडासको नयाँ प्रो एभो थ्री सुपर सु प्रयोग गरेका थिए र त्यसको तौल सय ग्रामभन्दा कम थियो ।
महिलातर्फ टिग्स्ट आसेफाले पनि नयाँ विश्व कीर्तिमान बनाएकी छन् । ओलम्पिक च्याम्पियन तथा वर्ल्ड च्याम्पियनसिपमा रजत पदक विजेता आसेफाले २ घण्टा १५ मिनेट ४१ सेकेन्डमा दौड पूरा गरिन् । नयाँ विश्व कीर्तिमानका लागि उनले आफ्नै नाममा रहेको प्रदर्शनमा ९ सेकेन्डको सुधार गरिन् ।
