कान्तिपुरकर्मी पौडेललाई सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार

मञ्चको २१ औं वार्षिक साधारणसभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा द काठमान्डु पोस्टका संवाददाता पौडेल पुरस्कृत भएका हुन् ।

वैशाख १३, २०८३

ध्रुव तुलाधर

Kantipur journalist Poudel receives Suman Bhomjan Memorial Youth Journalism Award

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी नायक पौडेल पुरस्कृत भएका छन्।

मञ्चको २१ औं वार्षिक साधारण सभाको अवसरमा आज आइतबार आयोजित कार्यक्रममा द काठमान्डु पोस्टका संवाददाता पौडेल पुरस्कृत भएका हुन् । युवा पत्रकार नायकले द राइजिङ नेपाल हुँदै कम्युनिकेसन एन्ड जर्नालिजममा स्नातक अनि अँग्रेजीमा स्नाकत्तोर गरेका छन् । उनले गत वर्ष एएफसी महिला एसियन कप छनोट कप र टी-२० क्रिकेट विश्वकपमा उत्कृष्ट समाचार सम्प्रेषण गरेका थिए।

पुरस्कार प्राप्त गरेपछि उनले भने, ´अग्रज पत्रकारहरूको प्रेरणाले गर्दा म यो पुरस्कारको हकदार हुन सकेँ। यस्तो प्रेरणा भविष्यमा पनि पाइरहने विश्वास छ।`

सोही अवसरमा एनएसजेएफ अग्रज खेल पत्रकारिता सम्मानबाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत सम्मानित भए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरे। राउतललाई सम्मानपत्र सहित ३५ हजार तथा पौडेललाई ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।   

हाल लोकान्तर अनलाइनमा कार्यर पत्रकार राउतले झन्डै ३ दशक खेल पत्रकारितामा बिताएका छन् । सो क्रममा उनले दक्षिण एसियाली खेलकुद प्रतियोगितादेखि एसियाली खेलकुद अनि फिफा विश्वकप छनोट देखि एसीसी ट्रफीसम्मको स्थलगत रिपोर्टिङ गरेका छन् ।

सम्मान प्राप्त गरेपछि राउतले भने, 'मैले विभिन्न ठाउँबाट सम्मान पाएको छु। तर यो सम्मान मेरो लागि अति विशेष छ। किनकि यो मैले आफ्नै परिवारबाट पाएको हुँ ।`

सदस्य सचिव राम चरित्र मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारणसभाको सफलताको कामना गरेका थिए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले धन्यवाद ज्ञापनका क्रममा खेलकुद पत्रकारिताको दायरा फराकिलाे पार्न सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताए ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully