शून्य ह्यान्डिक्यापमा खेलेका तेन्जिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जिते । यस जितसँगै उनले मलेसियाको गल्फ यात्रासहित गल्फ किट्स र उपहारहरू प्राप्त गरेका छन् ।
काठमाडौँ — गोकर्ण गल्फ क्लबमा शनिबार भएको कार्ल्सबर्ग गल्फ क्लासिक (गोकर्ण संस्करण) मा तेन्जिङ छिरिङ विजयी भएका छन् ।
शून्य ह्यान्डिक्यापमा खेलेका तेन्जिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जिते । यस जितसँगै उनले मलेसियाको गल्फ यात्रासहित गल्फ किट्स र उपहारहरू प्राप्त गरेका छन् । उनले बोगीरहित उत्कृष्ट खेल प्रदर्शन गर्दै ८, ११ र १३ औं होलमा बर्डी बनाएका थिए ।
सन्योग शाही ३७ अंकसहित काउन्टब्याकका आधारमा उपविजेता भए । सात ह्यान्डीक्यापमा खेलेका उनले अगाडिको ९ होलमा १६ र पछाडिको ९ होलमा २१ अंक जोडेका थिए । टासी छिरिङले बेस्ट ग्रस र मोस्ट बर्डिज दुवै उपाधि जिते । उनले ३९ ग्रस अंकसहित बेस्ट ग्रस जित्दा ५ बर्डी बनाएर मोस्ट बर्डिर्जको उपाधिसमेत हत्याए । महिलातर्फ सुष्मा सिंह ३८ अंकसहित विजेता भइन् । उनले पनि मलेसियाको गल्फ यात्रासहित पुरस्कार प्राप्त गरिन् । तारा कार्की चित्रकार ३३ अंकसहित उपविजेता बनिन् ।
६० वर्ष वा सोभन्दा माथिका सिनियर खेलाडीतर्फ बाबु शेर्पा (३६ अंक) विजेता बने । उनले फ्रन्टनाइनमा १५ र ब्याकनाइनमा २१ अंक जोडे । शंकरमान रोक्काले क्लोजेस्ट टु द पिन अवार्ड जिते भने डार्टानियन गियर्केले लङ्गेस्ट ड्राइभ जिते ।
गोर्खा ब्रुअरीको प्रायोजनमा आयोजित प्रतियोगितामा कुल १ सय ११ खेलाडीको सहभागिता थियो। प्रतियोगिताका सबै विजेताले कार्ल्सबर्गबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेतालाई गोर्खा ब्रुअरीका निर्देशकहरू अमर वैद्य, काजीमान सुब्बा, रोजन अमात्य, प्रतिमा बर्मा, दिनेशमान श्रेष्ठ, ब्रान्ड म्यानेजर इशा पौडेलसहित गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे ।
