समूह बी अन्तर्गत शनिबार थाइल्यान्डविरुद्धको खेलमा नेपालले ४९-३३ अंकको नतिजा निकालेको हो।
What you should know
हाइनान, सान्या — चीनको सान्या समुद्री तटवर्ती सहरमा जारी छैटौं एसियन ‘बिच गेम्स' को महिला कबड्डीमा नेपालले दोश्रो जित हात पारेको छ । यो जितसँगै नेपालले ४ अंक बटुलेर सेमिफाइनलको यात्रा तय गरेको छ ।
समूह बी अन्तर्गत शनिबार थाइल्यान्डविरुद्धको खेलमा नेपालले ४९-३३ अंकको नतिजा निकालेको हो । प्रतियोगिता अवधिभर नेपाली खेलाडीले थाइल्याण्डलाई सामान्य अंक दूरीसहित दबाबमा राख्न सफल रह्यो ।
शुक्रबार खराब मौसमका कारण स्थगित भएको बंगलादेश विरुद्धको खेल आइतबार बिहान ९ बजे खेलाइने र सोही दिन अपरान्ह नेपालले सेमिफाइनल खेल खेल्ने तालिका छ । नेपाल सहभागी हुने कबड्डी टिमको सेमिफाइनलको खेलतालिका अपरान्ह प्राप्त हुने छैटौं एसियन खेलकुदका लागि नेपाली सेफ द मिसन रामकृष्ण श्रेष्ठले बताए ।
प्रतियोगिता अवलोकनका लागि सान्यास्थित बिच रंगशाला पुगेका नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले महिला टिमले राम्रो प्रदर्शन गरेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘खेल अनुभव र आत्मविश्वासले परिणाम राम्रो आएकोमा निकै खुसी लाग्यो ।'
सन् २०२३ अक्टोरमा चीनको हाङ्चौमा आयोजित १९औं एसियाली खेलकुदमा नेपालले कास्य पदक प्राप्त गरेको थियो । सो खेलपश्चात् धेरैको ध्यानाकर्षण भएको बताउँदै श्रेष्ठले बिच गेम्समा नेपालमा आफूलाई अब्बल खेलकुद भएको प्रमाणित गरेको बताए । उनले भने, ‘पहिलो खेलमै चाइनिज ताइपेइलाई पराजित गरेर सक्षमता देखाएको नेपालले बाँकी खेलमा राम्रो खेल्दै गएमा राम्रो पदक हासिल गर्ने आशा छ ।'
समूह ए बाट भारत र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाएका छन् । यो समूहबाट सिरिया बाहिरिएको छ । बी बाट नेपाल र बंगलादेशले अन्तिम चारको स्थान बनाए भने चाइनिज ताइपेइ र थाइल्याण्ड बाहिरिए ।
