मच्छिन्द्रले चुम्यो इलाम गोल्डकपको उपाधि 

शनिबार भएको फाइनल खेलमा एनआरटीलाई २–० गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको हो । एनआरटी इलाम गोल्डकपका पहिलो र दोस्रो दुवै संस्करणको उपाधि विजेता हो  ।

वैशाख १२, २०८३

लक्ष्मी गौतम

Machhindra wins Ilam Gold Cup title

पाँचथर — साविक विजेता न्यूरोड टिम काठमाडौंलाई पछि पार्दै मच्छिन्द्र फुटबल क्लबले तेस्रो इलाम गोल्डकपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा एनआरटीलाई २–० गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको हो । एनआरटी इलाम गोल्डकपका पहिलो र दोस्रो दुवै संस्करणको उपाधि विजेता हो  ।

राष्ट्रिय तथा विभिन्न उमेर समूहका खेलाडीहरू सम्मिलित दुवै टिमले पहिलो हाफमा गोलरहित बराबरीमा खेलेका थिए ।

दोस्रो हाफ सुरु भएसँगै मच्छिन्द्रले खेलमा पकड जमायो । मध्यान्तर पछिको हाफको दोस्रो मिनेटमै सौरभ सुब्बाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पुनः त्यसको तीन मिनेटपछि मिलन चाम्लिङले अर्को गोल थप्दै मच्छिन्लाई २–० को सुरक्षित अग्रता दिलाए । जुन खेलको अन्त्यसम्म कायम रहृयो ।

उपाधिसँगै मच्छिन्द्रले नगद १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको एनआरटीले ५ लाख नगद र ट्रफीमा चित्त बुझायो ।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारी घोषित भए ।

यसैगरी उत्कृष्ट डिफेन्डर एनआरटीका आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका युवराज ढकाल, सर्वाधिक गोलकर्ता मच्छिन्द्रका मिलन चाम्लिङ र उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रकै प्रवेश कटुवाल घोषित भए । 

उत्कृष्ट विधाका सबै खेलाडीलाई नगद १५ हजारका दरले पुरस्कृत गरियो ।

उदीयमान खेलाडीका रुपमा आयोजक रेडहर्स इलामका खेलाडी विवेक सुनाम घोषित हुँदै नगद २५ हजारसहित पुरस्कृत भए । यस्तै सर्वोत्कृष्ट खेलाडीका रुपमा मच्छिन्द्रका सनिष श्रेष्ठ नगद ५१ हजार र ट्रफीसहित पुरस्कृत भए ।

रेडहर्स क्लब इलामको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालका ७ र मलेसियाको एकसहित आठ वटा टिमको सहभागिता रहेको थियो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully