लुम्बिनी राष्ट्रिय रोड रेसमा आर्मीको बर्चस्व

१० किलोमिटर रोड रेस प्रतियोगितामा महिला-पुरुष दुवैतर्फ नेपाली सेनाका धावकहरू प्रथम भएका छन् ।

वैशाख १२, २०८३

दुर्गालाल केसी

Army dominates Lumbini National Road Race

What you should know

दाङ — घोराहीमा शनिबार सम्पन्न ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ मा आर्मीले बर्चस्व कायम गरेको छ । महिला-पुरुष दुवैतर्फ नेपाली सेनाका धावकहरू प्रथम भएका छन् ।

पुरुषतर्फ खड्कबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ खड्काले १० किलोमिटर दूरी ३० मिनेट ३३ सेकेन्डमा पूरा गरे भने महिलातर्फ न्यौपानेले ३६ मिनेट ३३ सेकेन्डमा पूरा गरिन् । प्रथम हुने दुवैले ८०/८० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी, पुरुषतर्फ सशस्त्र प्रहरीका रुपेश कार्कीले ३१ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरेका छन् भने नेपाली सेनाका उमेश थापा ३१ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भएका छन् ।

महिलातर्फ नेपाली सेनाकी निर्मला केसी ३७ मिनेट ४५ सेकेन्डमा दूरी पार गरी दोस्रो भइन् भने एपिएफकी सम्झना गुरुङ ३९ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन् । दोस्रो हुने पुरुष तथा महिला खेलाडीलाई ४५ हजार र तेस्रो हुनेलाई २५ हजार रुपयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुरुषतर्फ नेपाली सेनाका अक्कल पालले ३२ मिनेट २ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हासिल गरे भने महिलातर्फ एपिएफकी फूलमाया रानाले ३९ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गरिन् । चौथो स्थान प्राप्त गर्ने दुवै खेलाडीलाई १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट १० पुरूष र महिलालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले बताए । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र खुला समूहबाट देशभरका एक हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको उनले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully