रुवान्डामा भइरहेको प्रतियोगितामा भानुआटुले शुक्रबार नेपाललाई २२ रनले पराजित गर्यो ।
काठमाडौं — नेपाल आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा भानुआटुसँग अप्रत्यासित रुपमा पराजित भएको छ । रुवान्डामा भइरहेको प्रतियोगितामा भानुआटुले शुक्रबार नेपाललाई २२ रनले पराजित गर्यो ।
भानुआटुलाई पराजित गरेको भए नेपाल लगातार तेस्रो विजय हात पार्दै शीर्ष स्थानमा उक्लिने थियो । तर नेपालमाथि एतेहिासक जित हात पार्दै भानुआटुले प्रतियोगितामा पहिलो विजय निकालेको हो । भानुआटु यसअघिका तीनै खेलमा पराजित भएको थियो । नेपालको ४ खेलमा यो दोस्रो पराजय हो ।
पहिलो दिनको खेलमा अमेरिकासँग ४४ रनले पराजित नेपालले त्यसपछि भने इटालीलाई ५० रनले र आयोजक रुवान्डालाई २ विकेटले पराजित गरेको थियो । तर, शुक्रबार नेपालले निकै कमजोर खेल प्रदर्शन गरेको थियो ।
किगालीस्थित गहन्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको भानुआटुले निर्धारित २० ओभर खेलि ५ विकेट गुमाई ९७ रन बनाएको थियो । जबाफमा आएको नेपाल १५.३ ओभरमा ७५ रनमा अलआउट भयो ।
यस खेलबाट कविता कुँवर महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेकी छन् । कविताले रुवान्डामा भइरहेको आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा शुक्रबार भानुआटुविरुद्ध १ विकेट लिँदै आफ्नो विकेट संख्या ६३ पुर्याएककी हुन् । यसअघि सीता रानामगरले ६७ खेलमा ६२ विकेट लिएकी थिइन् ।
