नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले अहिलेसम्म नेपाली टोलीले विश्व केम्पो च्याम्पियनसिपमा कुल ५ विधामा १७ पदक जितेको जानकारी दिएका छन् ।
काठमाडौँ — नेपाली केम्पो टोलीले टर्कीमा भएको २२ औं आईकेएफ विश्व केम्पो (मार्सल आर्टस्) च्याम्पियनसिपमा १७ पदक जितेको छ ।
नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले अहिलेसम्म नेपाली टोलीले विश्व केम्पो च्याम्पियनसिपमा कुल ५ विधामा १७ पदक जितेको जानकारी दिए । जुनियर कातामा मोनालिसा धामीले स्वर्ण पदक जितिन् । क्रिडिक्स विक्रम कुँवर र दिलमान लामाले कांस्य पदक जिते । वेप्पन (हतियार) कातामा जुनियरतर्फ मोनालिसाले रजत, सुलभ श्रेष्ठ र क्रिडिक्सले कांस्य जिते ।
टर्कीको एन्टाल्यामा भएको च्याम्पियनसिपमा १८ वर्षमाथिको काता विधामा यमन पाण्डेले कांस्य जिते । समूह कातामा मोनालिसा र इरा गौतमको जोडीले कांस्य जित्यो । सेल्फ डिफेन्समा सुरेश पराजुली, यमन पाण्डे, मोनालिसा र शिवहरि राईको टोलीले कांस्य हात पार्यो । मिक्स्ड सेल्फ डिफेन्स (पुरुष तथा महिला) मा अञ्जना शाही, यमन पाण्डे, मोनालिसा र शिवहरिले रजत जिते ।
सेल्फ डिफेन्स विधामा अञ्जना शाही र मोनालिसाले कांस्य प्राप्त गरे । दोस्रो दिनको सवमिसन विधा जुनियरतर्फ क्रिडिक्स विक्रमले रजत जित्दा मोनालिसा, सुलभ श्रेष्ठ र आइरा गौतमले कांस्य जिते ।
उक्त प्रतियोगितामा नेपालबाट १६ खेलाडी र पदाधिकारीहरू सहभागी छन् । नेपाली टोलीका प्रशिक्षक अञ्जना शाही छन् ।
