आयोजक आइडियल स्पोर्ट्स एकेडेमीका अनुसार प्रतियोगिता इटहरी–९ स्थित जनता क्रिकेट पार्क खेल मैदानमा सञ्चालन हुनेछ ।
सुनसरी — इटहरीमा तेस्रो मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता वैसाख १५ देखि २१ सम्म आयोजना हुने भएको छ ।
आयोजक आइडियल स्पोर्ट्स एकेडेमीका अनुसार प्रतियोगिता इटहरी–९ स्थित जनता क्रिकेट पार्क खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता २०/२० ओभरको नकआउट आधारमा, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुसार खेलाइनेछ । प्रतियोगितामा कुल १२ वटा टिम सहभागी हुनेछन् भने जम्मा ११ खेल सञ्चालन हुने जनाइएको छ ।
सहभागी टोलीमा इटहरी उपमहानगरपालिकाका तीन वटा टिमसहित धरान उपमहानगरपालिका, विराटनगर महानगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, दुहबी नगरपालिका, बराहक्षेत्र नगरपालिका, मेचीनगर नगरपालिका (झापा), त्रियुगा नगरपालिका (उदयपुर), मोरङको कटहरी गाउापालिका र सुनवर्षी नगरपालिका रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार, उपविजेताले ४० हजार रुपैयाा पाउनेछ । ‘प्लेयर अफ द सिरिज’ लाई नगद ७ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ४ हजार रुपैयाा प्रदान गरिनेछ । ‘म्यान अफ द म्याच’ लाई प्रत्येक खेलमा नगद १५ सय रुपैयाा प्रदान गरिने आयोजकले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको सहकार्य तथा कोशी प्रदेश क्रिकेट संघको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष एवंम प्रतियोगिता संयोजक सीपी पौडेलले जानकारी दिए।
प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकास, प्रतिभा पहिचान र खेलाडी उत्पादनमा टेवा पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ । अघिल्लो दुईवटै संस्करणको उपाधि विराटनगर महानगरपालिकाले जितेको थियो ।
