बिहीबार भएको सेमिफाइनलमा एनआरटीले रोलिङ क्लबलाई टाइब्रेकरमा हराउँदै फाइनल प्रवेश गरेको हो ।
पाँचथर — डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) काठमाडौं रोलिङ क्लब धुलाबारी झापालाई हराउँदै इलाममा जारी तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम सेमिफाइनलमा एनआरटीले रोलिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १–१ को बराबरीमा खेलेपछि ट्राइबेकरबाट निर्णय गरिएको थियो ।टाइब्रेकरमा एनआरटीले ४ गोल गर्दा रोलिङ क्लबले ३ गोल मात्र गर्यो । खेलमा एनआरटीका विज्ञान खड्काले मध्यान्तरअघि अतिरिक्त समयमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
मध्यान्तरपछि आक्रामक बनेको रोलिङ क्लबका फागुराम चौधरीले ८१औं मिनेटमा जवाफी गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । टाइब्रेकरमा एनआरटीका खेलाडीले संयमता देखाउँदा गोलकिपर विशाल सुनुवार निर्णायक साबित भए । उत्कृष्ट प्रदर्शन गरेका सुनुवार खेलको ‘म्यान अफ दी म्याच’ भए ।
एनआरटीले अब शनिबार हुने फाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र मलेसियाका गरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
