अन्तर्राष्ट्रिय फुटबलका दुई सर्वोच्च निकायले पत्र लेख्दै वैशाख २१ फिर्ता एन्फामाथि लागेको तीन महिनाको निलम्बन फिर्ता लिन भनेको छ ।
काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्ने निर्णय फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) समयसीमा तोकेको छ ।
अन्तर्राष्ट्रिय फुटबलका दुई सर्वोच्च निकायले पत्र लेख्दै वैशाख २१ फिर्ता एन्फामाथि लागेको तीन महिनाको निलम्बन फिर्ता लिन भनेको छ । फिफा र एएफसीले राखेपको निलम्बनको निर्णयले एन्फाको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै त्यसलाई फिर्ता लिन भनेको छ ।
राखेपको एन्फा निलम्बन गर्ने निर्णयलाई उनीहरूले तेस्रो पक्षको हस्तक्षेपका रूपमा पनि व्याख्या गर्दै आएका छन् । राखेपको निलम्बनपछि एन्फाको चैत १३ का लागि झापामा तय निर्वाचन पनि स्थगित भएको थियो ।
त्यस पत्रमा तोकिएको मितिभित्र राखेपको निर्णय फिर्ता नभए परिस्थिति जटिल हुने पनि भनिएको छ । फिफा र एएफसीले राखेपको निर्णय फिर्ता लिएपछि सबै सरोकारवालासँग संवादको माध्यमबाट समाधान खोज्न सकिने पनि बताइएको छ । एन्फाका महासचिव किरण राईलगायत एन्फाका अन्य पदाधिकारी बिहीबार नै राखेप पुगेर फिफा र एएफसीको त्यो पत्र बुझाएका थिए ।
राखेपसँगको छलफलपछि महासचिव राईले भने, 'निलम्बन फिर्ता लिने विषयमा राखेप सकारात्मक भए तापनि समस्याको हलका लागि थप बैठक बस्नु पर्नेछ । बैठकमा हामीले नेपाली फुटबल बचाउन अनुरोध गरेका थियौं । निलम्बन फिर्ता लिन वैशाख २१ सम्मको समय दिइएको छ, यसैक्रममा राखेपसँग थप वार्ता गर्नु पर्ने स्थिति मैले देखेको छु ।’
