पहिलो दिनको खेलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको टिमलाई सोझो तीन सेटले हराउँदै कर्णाली मावि विजयी भएको हो ।
जुम्ला — जुम्ला बहुमुखी क्याम्पस जुम्लामा जारी प्रथम स्ववियु खुला भलिबल प्रतियोगितामा कर्णाली मावि अनामनगरले विजयी सुरुआत गरेको छ ।
पहिलो दिनको खेलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको टिमलाई सोझो तीन सेटले हराउँदै कर्णाली मावि विजयी भएको हो ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाको टिम र जुम्ला बहुमुखी क्याम्पस जुम्लाको शिक्षक/कर्मचारीको टिमले पहिलो मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा पत्रकार महासंघ शाखा जुम्लाले सोझो दुई सेटमा जितेको थियो ।
जुम्ला बहुमुखी क्याम्पसका सभापति लोकेन्द्र बुढाले प्रथम स्ववियु खुला भलिबल प्रतियोगिता तीन दिनसम्म चल्ने जानकारी दिए । उनका अनुसार बिहीबार तीन खेल हुनेछन्
। पहिलो खेल आयोजक स्ववियु र कर्णाली प्राविधिक कार्यालयबीच हुनेछ । दोस्रो खेल तातोपानी गाउँपालिका र जुम्ला बहुमुखी क्याम्पस एच र तेस्रो खेल पातारासी गाउँपालिका र विपद व्यवस्थापन प्रहरी र पातारासी गाउँपालिकाबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले गरेका थिए । जुम्ला क्याम्पसलाई चिनाउन, खेलका माध्यमबाट एकआपसमा विद्यार्थी र शिक्षकहरुबीच सद्भाव साट्न र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगिताको आयोजना गरिएको क्याम्पस सभापति लोकेन्द्र बुढाले जानकारी दिए । प्रतियोगितामा ९ टिमले भाग लिएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख एक हजार १ सय १ रुपैयाँ नगद पुरस्कार मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रोले ५१ हजार १ सय १ रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र पाउने सभापति बुढाले जानकारी दिए ।
