रुवान्डामा नेपालको दोस्रो जित

टस जितेर ब्याटिङ रोजेको घरेलु टोली रुवान्डालाई नेपालले १९.४ ओभरमा ८८ रनमा अलआउट गर्‍यो । तर किगालीस्थित गहंगा ओभल 'बी'मा नेपाललाई लक्ष्य पछ्याउन निकै चुनाती बन्यो ।

वैशाख ९, २०८३

विनोद पाण्डे

Nepal's second win in Rwanda

What you should know

काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले रुवान्डामा भइरहेको आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा लगातार दोस्रो विजय हात पारेको छ । नेपालले बुधबार शीर्ष स्थानमा रहेको रुवान्डालाई २ विकेटले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको घरेलु टोली रुवान्डालाई नेपालले १९.४ ओभरमा ८८ रनमा अलआउट गर्‍यो । तर किगालीस्थित गहंगा ओभल 'बी'मा नेपाललाई लक्ष्य पछ्याउन निकै चुनाती बन्यो । रचना चौधरीले अन्तिम ओभरमा ३ रन बनाएपछि नेपालले १९.४ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

विजय लक्ष्य पछ्याउनेक्रममा बिनाक्षति ५१ रन बनाएको नेपाल अन्तिम ओभर अगाडि ८६–८ को स्थितिमा पुगेको थियो । अझ नेपालले अन्तिम ३९ बलमा ७ विकेट गुमाई केवल १२ रन बनाएको  थियो ।

अन्तिम ओभरमा विजयका लागि ३ रन चाहिने अवस्थामा रचनाले दोस्रो बलमा २ रन लिँदै स्कोर बराबरीमा ल्याएकी थिइन् भने चौथो बलमा विजयी रन प्रहार गरेकी थिइन् ।

सम्झना खड्का र विन्दु रावलले ८.५ ओभरमा ५१ रन जोडेर सानदार सुरुआत दिलाएपछि नेपाल विजयको नजिक पुगेको थियो । विन्दु २१ बलमा चौका प्रहार गरी १० रन बनाई एलबीडब्लू आउट भएपछि यो साझेदारी टुटेको थियो ।

सम्झनाले ४२ बल खेली ७ चौका प्रहार गर्दै ४८ रन बनाइन् । उपकप्तान पुजा महतोले २० बल खेली १३ रन बनाइन् । तर त्यसपछि कप्तान इन्दु बर्मा १, कविता कुँवर शून्य, कविता जोशी १, रुविना क्षेत्री २, रुवि पोदार १ रनमा आउट भएको अवस्थामा रचनाले नाटकीय खेलको अन्त गरिन् ।

नेपालको यो दोस्रो विजय हो । अघिल्लो खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको थियो । रुवान्डाले अघिल्लो खेलमा अमेरिकालाई १ रनले पराजित गरेको थियो । नेपाल पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको रुवान्डाबाट एलिस इकुज्वेले १७, मेरभिल युवासेले १५, क्लारिसे उमोटोनीवेजले १३ र रोसिन इरेराले १२ रन बनाएका थिए ।

नेपालबाट रचनाले ३ विकेट लिइन् । उनले ३ ओभरमा १२ रनमात्र खर्चिन । पूजाले ४ ओभरमा १६ र  कविता कुँवरले ३.४ ओभरमा २४ रन खर्चेर २–२ तथा मनीषा उपाध्याय र रिया शर्माले १–१ विकेट लिइन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully