प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ११ जिल्लाका धावकहरुको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।
गोरखा — प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरबाट गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता हुने भएको छ । वैशाख १४ गते हुने प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ११ जिल्लाका धावकहरुको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । उनका अनुसार मनकामनादेखि गोरखकाली मन्दिरसम्म ४२.१९५ किलोमिटर पुरुष/महिला म्याराथन हुने छ ।
मनकामनाबाट जुम्ली चौतारासम्म ५ किलोमिटर र मनकामनाबाट तीनमानेसम्म १० किलोमटिर महिला/पुरुष दौड प्रतियोगिता पनि हुने तामाङले बताए । तीनवटै इभेन्टमा गण्डकी प्रदेशका ११ जिल्लाबाट १/१ जना महिला र पुरुष खेलाडीहरुको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
विभागीय टिम तथा अन्य प्रदेशमा आबद्ध भई सोही प्रदेश विभागको प्रतिनिधित्व गर्ने खेलाडी तथा कुनै विभागमा कार्यरत व्यक्तिले प्रतियोगितामा भाग लिन पाउने छैनन् । म्याराथनतर्फ महिला/पुरुष दुवैतर्फ पहिलो हुनेले ५५ हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै सान्त्वना २/२ जनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
म्याराथन दौडका लागि मनकामना मन्दिरदेखि ताक्लुङ–तीनमाने–घैरुङ–नाम्जुङ– काउलेभंगार– बुंकोट– ढुङ्गगाढे– आहाले भञ्ज्याङ–बराह मन्दिर, हस्पिटलचोक–हरमटारी– बसपार्क–बीपी चौतारा–ठुलो आँगन–सतिपिपल–गैरीकुवा–हुनुमान थान (गोरखकाली मन्दिर) सम्मको रुट तय गरिएको छ ।
१० किलोमिटरतर्फ (महिला/पुरुष) मा पहिलो हुनेले ३० हजार, दोस्रो हुनले २० हजार र तेस्रो हुनले १० हजार नगद पुरस्कार पाउने छन् ।
५ किलोमटिरतर्फ (महिला/पुरुष) मा पहिलो बन्नेले १५ हजार, दोस्रोले ७५ सय र तेस्रोले ५ हजार पुरस्कार पाउने छन् ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा हुने प्रतियोगिताबाट राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६ जना छनौट गरिने छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट सहभागी बन्ने धावक छनौ गरिने तामाङले बताए । प्रतियोगिता संचालनका लागि १२ लाख १५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
