९ टिमले भाग लिएको स्ववियु खुला भलिबल प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रोले ५१ हजार १ सय १ रुपैयाँ पुरस्कार पाउनेछ ।
जुम्ला — जुम्ला बहुमुखी क्याम्पसमा प्रथम स्ववियु खुला भलिबल प्रतियोगिता सुरु भएको छ ।
पछिल्लो समयमा दुर्गम गाउँबाटै भलिबल प्रतियोगिता संकटमा परिरहेको अवस्थामा स्ववियू जुम्लाले खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरेको हो ।
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बुधबार प्रतियोगिताको उद्घाटन गरे । उनले भलिबल खेलका माध्यमबाट खेलाडीको प्रतिभा पहिचान हुने बताए । उनले भने, ‘भलिबल प्रतियोगिता खेलकुद मात्र नभइ युवाहरूबीचको भेटघाट र सम्बन्ध सुधारको सेतु बन्ने देखिन्छ ।’
जुम्ला क्याम्पसलाई चिनाउन, खेलका माध्यमबाट एकआपसमा विद्यार्थी र शिक्षकहरूबीच सद्भाव साट्न र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगिताको आयोजना गरिएको क्याम्पस सभापति लोकेन्द्र बुढाले जानकारी दिए ।
प्रतियोगितामा ९ टिमले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रो हुनेले ५१ हजार १ सय १ रुपैयाँ पुरस्कार पाउनेछ ।
सभापति बुढाले जुम्लामा भलिबल खेलको सम्भावना धेरै देखिएको भन्दै अब दुर्गमका विद्यालय र बस्तीस्तरसम्मै यो खेल लैजानुपर्नेमा जोड दिए । ‘पहिले गाउँमा भलिबल थियो । सहरमा फुटबल थियो,’ उनले भने, ‘अहिले गाउँमा फुटबल पुगिसक्यो । भलिबल गाउँमै हराउन थाल्यो । यो भएन । अब हरेक विद्यालय, बस्ती र क्याम्पस स्तरमा भलिबल प्रतियोगिता आयोजना गर्नुपर्ने बेला आएको छ ।’
उनले भलिबल खेललाई प्राथमिकता दिएर राम्रा राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिन जिल्लाका आठ स्थानीय तहका ६० वटै वडालाई आग्रह पनि गरे ।
