वर्षाले छोट्याइएको खेलमा नेपालमाथि यूएई हाबी

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो खेल खेल्यो

वैशाख ८, २०८३

विनोद पाण्डे

UAE dominates Nepal in rain-shortened match

काठमाडौँ — यूएईले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार नेपाललाई ६ विकेटले पराजित गरेको छ । वर्षाका कारण १० ओभरमा ७८ रन बनाउनुपर्ने लक्ष्य यूएईले ७ बलअघि पूरा गर्‍यो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले पहिलो ओभरमै ‘डेब्यु’ गरिरहेका हेमन्त धामीलाई समान २ चौका र छक्का प्रहार गर्दै २० रन बटुले । वासिम २४ रनमा हुँदा नन्दन यादवको बलमा विकेटकिपर अर्जुन साउदले क्याच छाड्न पुगे ।

चौथो ओभर लिएर आएका सन्दीप लामिछानेलाई वासिमले छक्का प्रहार गरे । त्यसको अर्को बलमा सन्दीपले उनलाई आउट गरे । वासिमले १५ बलमा समान ३ चौका र छक्कासाथ ३३ रन बनाए । दुई बलपछि सन्दीपले अबिद उस्मानीलाई २ रनमा एलबीडब्लू आउट गरे ।

आफ्नो दोस्रो ओभरमा सन्दीपले हरप्रित सिंह (२) आउट गरे । अलिसान सराफु १५ बल खेल्दै समान १ चौका र छक्कासहित १८ रन बनाई कुशल मल्लको बलमा आउट भए । अक्षदीप नाथ ८ बलमा १७ र सोहेब खान २ रन बनाई अविजित रहेर यूएईलाई विजय दिलाए ।

पुनर्निर्माणपछि त्रिवि क्रिकेट रंगशालामा खेलिएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा १ सय २२ रन बनाएको अवस्थामा खेल वर्षाले बिथोलिएको थियो । त्यसपछि खेल प्रभावित हुँदा यूएईलाई १० ओभरमा नयाँ लक्ष्य दिइएको हो ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो खेल खेलेको हो । तर नेपालले घरेलु मैदानमा ठूलो स्कोर बनाउन सकेन । दीपेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालका पाँचौं कप्तान बने । उनलाई रोहित पौडेलको स्थानमा नेपालको कप्तानी जिम्मेवारी दिइएको हो ।

दीपेन्द्रले नेपालबाट सर्वाधिक ३२ रन बनाए । उनी खेलिरहेको अवस्थामा वर्षाले खेल बिथोलेको थियो । उनले ३५ बल खेल्दै २ चौका प्रहार गरे । उनीसँगै सन्दीप लामिछाने २ रनमा क्रिजमा थिए ।

चार वर्षपछि नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीमा फर्किएका अर्जुन साउद ११ बल खेल्दै ३ चौकासहित १३ रनमा आउट भए । उनका ओपनिङ जोडी कुशल भुर्तेल १६ रनमा रनआउट भए । उनले ९ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे । यसबीच सन्दीप जोरा ६ रनमा आउट भएका थिए ।

कमजोर फर्मका कारण दुई महिनाअघि भारतमा भएको ट्वान्टी–२० विश्वकप गुमाएका मल्लले १७ रन बनाए । जुहेब जुबेरको एलबीडब्लू आउट भएका उनले २१ बल खेल्दै १ चौका प्रहार गरे । अर्का देव्रेहाते ब्याटर बसिर अहमद ११ बलमा १ चौका प्रहार गर्दै १४ रनमा आउट भए । गुलसन झा ७ बल खेल्दै एक रनमा एलबीडब्लू आउट भए ।

नन्दन यादवले लेग ब्रेक बलर मोहम्मद जुहेबलाई एकै ओभरमा २ छक्का प्रहार गरे । उनले ७ बलमा १३ रन बनाए । जुहेबकै बलमा उनी आउट भए । शेर मल्ल शून्यमा आउट भए । जुहेबले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । जुनैद सिद्दिकीले ओभरमा १८ रन खर्चेर २ विकेट लिए । मोहम्मद इरफानले ४ ओभरमा २० र हैदर अलीले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए । दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully