दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता मे २५ देखि जुन ७ सम्म हुनेछ ।
काठमाडौँ — अन्योल र अनिश्चिताबीच नेपाली महिला राष्ट्रिय टिमले भारतको गोवामा हुने वुमेन्स साफ च्याम्पिनयसिप खेल्ने बाटो खुलेको छ । राष्ट्रिय खेलकुद परिषदले निलम्बनमा राखेको अखिलल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार प्रतियोगिताका लागि प्रारम्भिक ३५ सदस्यीय टिम घोषणा गरेको छ ।
नेपाली फुटबल विवादबीच प्रतियोगितामा नेपालको सहभागिताबारे प्रश्न उठेको थियो । प्रतियोगिता सुरू हुनु एक महिना अगाडि नै प्रारम्भिक सूची पेस गर्नु पर्ने हुँदा प्रशिक्षक नवीन न्यौपानेले यो घोषणा गरेका हुन् । अब तयारी अर्को साताको सोमबारबाट सुरू हुनेछ ।
दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता मे २५ देखि जुन ७ सम्म हुनेछ । ‘प्रतियोगितामा सहभागी हुनका लागि हाम्रोतर्फबाट सबै प्रयास हुनेछ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने, ‘यसमा पनि सरकारी व्यवधान आयो भन्ने मात्र समस्या हुने हो, नत्र सहभागितमा हुने समस्या हुने छैन ।’
फुटबल विवादकै कारण नेपालले थाइल्यान्डमा हुने फिफा सिरिज गुमाएको थियो । महिला खेलाडीले पनि फुटबल विवादबीच टिमको सहभागिता निश्चित गर्न माग राखेका थिए । खेलाडीको प्रारम्भिक सूची पेस भएपछि अब प्रतियोगितामा सहभागिताको बाटो खुलेको हो ।
घोषित टिममा अन्जिला सुब्बा, अञ्जना रानामगर, अनिता बस्नेत, अनिता लामजेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, विमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, नेहा चौधरी र निशा थोकर परेका छन् ।
यस्तै टिममा परेका अन्य खेलाडीमा पुनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविना चौधरी, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वति हमाल, सरू लिम्बू, सिलु परियार, सक्रिया मिया, सुशीला कुमारी र उषा नाथ छन् ।
