हेलम्बु गाउँपालिकाको अगुवाइमा खेललाई पर्यटनसँग जोड्ने गरी २५ सय ६० मिटर उचाइमा मैदान बन्ने
What you should know
हेलम्बु, सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले ‘हाइअल्टिच्युड’ मा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण गर्ने भएको छ । त्यसका लागि गाउँपालिकाको लगानीमा अहिले वडा नम्बर–६ स्थित सङ्घुर्मुमा मैदान सम्याउने काम भइरहेको छ ।
२५ सय ६० मिटर उचाइमा मैदान निर्माण गर्न लागिएको हो । अहिले ३० लाख रुपैयाँ खर्च गरेर मैदान सम्याउने काम भइरहेको छ । पुरानो खेल मैदान सम्याएर क्रिकेट मैदान बनाउन लागिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले बताए ।
‘निर्माणको प्रारम्भिक चरण सुरु गरेका छौं,’ उनले भने, ‘यसलाई क्रिकेट स्टेडियम बनाउने हो ।’ यत्तिको उचाइमा क्रिकेट मैदान कतै नभएको उनको दाबी छ । ‘यत्तिको उचाइमा क्रिकेट मैदान कतै छ जस्तो लाग्दैन, त्यसैले यसको सुरुआत हामीले गरेका हौं,’ उनले भने, ‘मैदान बनाएर अन्य ठाउँमा हुने क्रिकेटको प्रशिक्षण यहाँ गराउने सोचमा छौं ।’ अहिले मैदानमा रहेको ठुला ढुंगाहरू फुटाउने काम जारी छ ।
मैदानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन परीक्षण गरेर छिट्टै निर्माण प्रक्रिया अघि बढाइने अध्यक्ष ह्याल्मोले बताए । ‘डीपीआरको काम सकिसकेपछि के कति लागत लाग्छ, त्यो थाहा हुन्छ,’ उनले भने, ‘त्यसपछि संघ वा प्रदेश कुन सरकारमार्फत निर्माण गर्ने हो, त्यहीअनुसार अघि बढ्छौं ।’
चालु आर्थिक वर्षमै डीपीआर टुंग्याउने गरी गाउँपालिका अघि बढेको उनले सुनाए । अहिले यो क्षेत्र टुरिजम हबको रूपमा विकास भइरहेको छ । काठमाडौंको सुन्दरीजलबाट चिसापानी भएर डाँडैडाँडा ५० किलोमिटर दूरी छिचोलेपछि यो ठाउँ पुगिन्छ । त्यस्तै काठमाडौंबाट मेलम्ची हुँदै यो ठाउँ ६३ किमि दूरीमा पर्ने अध्यक्षले सुनाए । पछिल्लो समय उक्त ठाउँमा होमस्टे खुल्ने क्रम बढ्दै गएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलक्षित गर्दै गाउँपालिकाले ‘ग्रेट ट्रेल’ को निर्माण गरिरहेको छ । अहिले यो ठाउँमा आन्तरिक पर्यटक घुम्न, फोटो र भिडियो खिच्न आउने गरेका छन् । कोघोप्टेघ्याङमा विश्वकै अग्लो चीनको ग्रेटवालको झल्को दिने ‘ग्रेट ट्रेल’ निर्माण गरिएको हो । उक्त गाउँपालिकाकै वडा नम्बर–३ को बुद्धपार्कबाट पनि यसको निर्माण जारी छ । ६० किलोमिटर निर्माण गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म ७ किमि निर्माण सकिएको छ ।
यो ठाउँबाट लस्करै देखिने जुगल, लाङटाङ, गणेश र गौरीशंकर हिमालले सबैलाई लोभ्याउँछ । चैत–वैशाखमा डाँडै राताम्ये भएर फुल्ने लालीगुराँसले थप मोहित बनाउँछ । हेलम्बुको बुद्धपार्कबाट सुरु हुने ट्रेल सेर्माथाङ–ज्योमथाङ–पाँचपोखरी थाङपाल गाउँपालिका, नुवाकोटको दुप्चेश्वर र हेलम्बुको सीमाक्षेत्र आमायाङ्ग्र्रीसँगै यसले रसुवाको गोसाइँकुण्ड जोड्नेछ ।
‘हाम्रो उद्देश्य खेल र पर्यटनलाई सँगसँगै अघि बढाउने हो,’ अध्यक्ष ह्योल्मोले भने, ‘त्यहीअनुसार क्रिकेट मैदान निर्माण गर्दै छौं, सहरबजारको कोलाहलमा क्रिकेटको प्रशिक्षण गरिरहेका खेलाडीहरू यहाँको शान्त वातावरणमा रम्ने छन्, उच्च भूमिमा रहेर सिक्ने छन् ।’
डीपीआर तयार भएपछि थप काम अघि बढ्ने उनले सुनाए । ‘यो वर्ष डीपीआर, इआईए सबै काम सकेर ठेक्का प्रक्रियामा लैजान्छौं,’ अध्यक्ष ह्योल्मोले भने, ‘निर्माणको काम बढीमा दुई वर्षभित्र सक्ने लक्ष्य छ ।’ डीपीआरबाट निर्माण लागत आउने भएकाले त्यहीअनुसार प्रदेश र संघ सरकारसँग बजेटका लागि आग्रह गरिने उनले बताए ।
‘ग्रेट ट्रेल’ २५ सय मिटर उचाइबाट थालिए पनि पाँच हजार मिटर अग्लो ठाउँसम्म निर्माण हुनेछ । निर्माण सक्न ४ अर्ब रुपैयाँ लाग्नेछ । जति सिँढी उक्लियो, त्यति हिमाल नजिक देखिने भएकाले ७ किलोमिटर ग्रेट ट्रेल हिँडेको पत्तै पाइँदैन । हेलम्बु–७ स्थित चनौटे बजारबाट कच्ची सडक छिचोल्दै यो ठाउँसम्म पुग्न सकिन्छ । अहिले २ किमि सडक कालोपत्र भइसकेको र बाँकी सडक क्रिकेट मैदान बन्ने बेलासम्म कालोपत्र भइसक्ने दाबी उनको छ ।
‘यो ठाउँमा एकचोटि आएकाहरू फेरि दोहोर्याएर आउन बिर्संदैनन्,’ उनले भने, ‘ग्रेट ट्रेल बनिरहेको छ, अब क्रिकेट मैदान बनेपछि यस क्षेत्रमा पर्यटन आवागमन वृद्धि हुनेछ, त्यो बेलासम्म यस क्षेत्रमा पाहुनाका लागि धेरै होमस्टे तयार पार्ने योजना छ ।’
