सोमबारदेखि टर्कीको अन्ताल्यामा अप्रिल २६ तारिखसम्म २२ औं विश्व केम्पो च्याम्पियनसिपमा हुँदै छ ।
काठमाडौँ — नेपालका १० खेलाडीले टर्कीमा हुने आइकेएफ २२ औं विश्व केम्पो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
सोमबारदेखि टर्कीको अन्ताल्यामा अप्रिल २६ तारिखसम्म २२ औं विश्व केम्पो च्याम्पियनसिपमा हुँदै छ । उक्त च्याम्पियनसिपमा नेपालका ६ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपाल केम्पो खुकुरी फेडेरेसनको टोली सोमबार च्याम्पियनसिपमा सहभागिता जनाउन टर्की गएको छ । फेडेरेसनका अध्यक्ष पाभेल शाहको नेतृत्वमा नेपाली टोली अन्ताल्या गएको हो । महिलातर्फ सेमी केम्पो ५० केजी तौलमा अञ्जना शाही, २२ केजीमा प्रिसा राज्यलक्ष्मी शाह, २५ केजीमा आइरा गौतम र ३५ केजीमा मोनालिसा धामीले ३५ केजीमा प्रतिस्पर्धा गर्नेछन् । अञ्जनाले काता र सेल्फ डिफेन्स तथा इराले कातामा भाग लिनेछन् ।
पुरुष सेमी केम्पोतर्फ सुरेश पराजुलीले ६५ केजी, सुलभ श्रेष्ठले ३० केजी र कृदिक्स विक्रम कुँवरले २५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । दिलमान लामाले २५ केजी फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा खेल्नेछन् । यमन पाण्डेले ५० केजीमा फुल केम्पो, सेमी केम्पो, सवमिसन, सेल्फ डिफेन्स र काता गरी ५ विधामा भाग लिने प्रशिक्षक अञ्जना शाहीले जानकारी दिइन् । शिवहरि राईले ५५ केजी तौल समूहमा सेमी केम्पो र फुल केम्पोमा प्रतिस्पर्धा गर्नेछन् । उनले काता र सवमिसनमा भाग लिनेछन् ।
