यूएईद्वारा नेपाल पराजित

वर्षाका कारण १० ओभरमा ७८ रन बनाउनु पर्ने लक्ष्यलाई यूएईले ७ बल अगाडि नै पूरा गर्‍यो ।

वैशाख ७, २०८३

विनोद पाण्डे

Nepal defeated by UAE

काठमाडौँ — यूएईले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार नेपाललाई ६ विकेटले पराजित गरेको छ । वर्षाका कारण १० ओभरमा ७८ रन बनाउनु पर्ने लक्ष्यलाई यूएईले ७ बल अगाडि नै पूरा गर्‍यो ।

यूएईका कप्तान मोहम्मद वासिमले पहिलो ओभरमै ‘डेब्यु’ गरिरहेका हेमन्त धामीलाई समान २ चौका र छक्का प्रहार गर्दै २० रन प्रहार गरेका थिए । वासिम २४ रनमा हुँदा नन्दनको बलमा विकेटकिपर अर्जुन साउदले क्याच छाड्न पुगे ।

चौथो ओभर लिएर आएका सन्दीप लामिछानेलाई वासिमले छक्का प्रहार गरे । त्यसको अर्को बलमा सन्दीपले उनलाई आउट गरे । वासिमले १५ बलमा समान ३ चौका र छक्काका साथ ३३ रन बनाए । दुई बलपछि सन्दीपले अबिद उसमानीलाई २ रनमा एलबीडब्लु आउट गरे ।

आफ्नो दोस्रो ओभरमा सन्दीपले हरप्रित सिंहलाई २ रनमा आउट गरे । अलिसान सराफु १५ बल खेली समान १ चौका र छक्का प्रहार गरि १८ रन बनाई कुशल मल्लको बलमा आउट भए । अक्क्षदिप नाथ ८ बल खेली १७ र सोहेव खान २ रन बनाई अविजित रहि यूएईलाई विजय दिलाए ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा खेलिएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा १ सय २२ रन बनाएको अवस्थामा खेल वर्षाले बिथोलिएको थियो । त्यसपछि खेल प्रभावित हुँदा यूएईलाई १० ओभरमा नयाँ लक्ष्य दिइएको हो ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो खेल खेलेको हो । तर, नेपालले घरेलु मैदानमा ठूलो स्कोर बनाउन सकेन । दीपेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालका पाँचौं कप्तान बने । दीपेन्द्रलाई रोहित पौडेलको स्थानमा नेपालको नेतृत्वको जिम्मेवारी दिइएको हो ।

दीपेन्द्रले नेपालबाट सर्वाधिक ३२ रन बनाए । उनी खेलिरहेको अवस्थामा वर्षाले खेल बिथोलेको थियो । उनले ३५ बल खेल्दै २ चौका प्रहार गरेका थिए । उनीसँगै सन्दीप लामिछाने २ रनमा क्रिजमा थिए ।

चार वर्षपछि नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीमा फर्किएका अर्जुन साउद ११ बल खेली ३ चौका प्रहार गर्दै १३ रनमा आउट भए । उनका ओपनिङ जोडी कुशल भुर्तेल १६ रनमा रनआउट भए । उनले ९ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे । यस बीचमा सन्दीप जोरा ६ रनमा आउट भएका थिए ।

कमजोर फर्मका कारण २ महिना अघि भारतमा भएको ट्वान्टी–२० विश्वकप गुमाएका मल्लले १७ रन बनाए । जुहेब जुबेरको एलबीडब्लु आउट भएका उनले २१ बल खेली १ चौका प्रहार गरे । अर्का देब्रेहाते ब्याटर बसिर अहमद ११ बल खेली १ चौका प्रहार गर्दै १४ रनमा आउट भए । गुलशन झा ७ बल खेली रनमा एलबीडब्लु आउट भए ।

नन्दन यादवले लेगब्रेक बलर मोहम्मद जुहेबलाई एकै ओभरमा २ छक्का प्रहार गरे । उनले ७ बलमा १३ रन बनाई जुहेबको बलमा आउट भए । शेर मल्ल शुन्यमा आउट भए ।

जुहेबले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । जुनाइद सिद्धिकीले ओभरमा १८ रन खर्चेर २ विकेट लिए । मोहम्मद इरफानले ४ ओभरमा २० र हैदर अलीले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए । दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully