गन्नी एफसी पोखराले पोखराकै बौद्ध शान्ति क्लब रामघाटलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो
घलेगाउँ, लमजुङ — डिफेन्डिङ च्याम्पियन गन्नी एफसी पोखराले पोखराकै बौद्ध शान्ति क्लब रामघाटलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकपको उपाधि उचालेको छ ।
क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा सोमबारको फइनल खेलमा गन्नीले रामघाटविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुमेको हो ।
विजेता गन्नी एफसीले ८ लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रामघाटले ५ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको छ ।
फाइनल खेलको सुरुवाती १० मिनेटमा गन्नीका कृष्णबहादुर आलेले पेनाल्टी एरियाबाट दिएको पासलाई सन्दीप रानामगरले गोल गर्दै खाता खोले । पहिलो हाफको ४० मिनेटसम्म रामघाटले गोलमात्रै रोकेन, प्रहार गर्दा पनि गोल गर्न चुक्यो । दोस्रो हाफको सुरुवाती ७ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै रामघाटलाई दबाबमा राखे । लगत्तै १ मिनेटपछि खेलको ८ मिनेटमा कृष्णबहादुर आलेले अर्को गोल थपे । फेरी २ मिनेटमै खेलको १० मिनेटमा टीकाराज गुरुङले गोल थप्दै रामघाटलाई पूर्ण असफल पारे ।
खेलमा म्यान अफ दि म्याच घोषित हुँदै गन्नीका गोल रक्षक दीप कार्कीले २ हजार रुपैयाँ र ट्रफी पाए । खेल अवधिभर बौद्ध शान्ति क्लव रामघाटका रोशन छन्त्याल सर्वोत्कृष्ट खेलाडी र ६ गोल गर्दै गन्नीका दिनेश हेन्जन सर्वाधिक गोलकर्ता बने । दुवैले १०/१० हजार रुपैयाँ र ट्रफी पाए । हेन्जनले प्रतियोगिताको पहिलो घरेलु टीम नाल्मा–११, बेंसीसहरविरुद्धको खेलमा ३ गोल गरी हृयाट्रिक गरेका थिए ।
विजयी र खेलाडीलाई क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घले, सचिव उमलबहादुर विक, खेल संयोजक पदमराज घले, वडाअध्यक्ष आसबीर गुरुङलगायतले पुरस्कार वितरण गरे ।
स्मार्ट भिलेजले चिनिने घलेगाउँमा नयाँ वर्षको दिन वैशाख १ गतेदेखि ‘नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको थियो । देशभरका १२ टिमलाई आमन्त्रण गरी सञ्चालन गरिएको प्रतियोगितालाई घलेगाउँबासीले खल पर्यटनको विकाससंग जोडेको छ ।
विगत ४ दशकदेखि फुटबल खेल हुँदै आएको यस ठाउँमा पछिल्ला वर्षको प्रतियोगिता नियमित हुन नसकेपछि उत्तरकन्या युनाइटेड युथ क्लबको पहलमा २०७३ देखि स्मार्ट भिलेज गोल्डकप सञ्चालनमा आएको थियो । ३ वर्षयता देशभरका फुटबल क्लबलाई आमन्त्रण गरी स्मार्ट भिलेज आमन्त्रित गोल्डकप सञ्चालन गरिँदै आएको छ ।
