इटहरी रंगशालामा सोमबार भएको १६औं संस्करणको रात्रिकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि हात पारेको हो ।
सुनसरी — अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ ।
इटहरी रंगशालामा सोमबार भएको १६औं संस्करणको रात्रिकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि हात पारेको हो ।
गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रामवाजीले प्रहार गरेको कर्नर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दोर्जेले उत्कृष्ट दिशा देखाए । उनी फाइनलको ‘म्यान अफ द म्याच’ पनि भए ।
प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख रुपैयाँ र उपविजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरी भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए ।
प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेन्डर, प्रतापसिंह राई उत्कृष्ट मिडफिल्डर घोषित भए । गछियाका विशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन डंगोल उत्कृष्ट फरवार्ड, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही नगद २० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिता अवधिभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ता भएबापत नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । राष्टि्रय जागृति क्लबका युजन राई उदीयमान खेलाडी बने । उनले ३२ इन्चको एलईडी टिभी पुरस्कार पाए ।
राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता थियो । प्रतियोगिता चैत ३० गतेदेखि सुरु भएर सोमबार समापन भएको होे ।
