१२ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पाँचथर — झापाको रोलिङ क्लब धुलाबारी इलाममा जारी पाँचौँ संस्करणको इलाम गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार साँझ सम्पन्न पहिलो चरणको दोस्रो खेलमा धुलाबारीले फिदिमलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनालमा प्रवेश गरेको हो ।
इलामको ठूलो टुँडिखेल मैदानमा भएको खेलमा रोलिङ धुलाबारीले फिदिमलाई सुरुवाती चरणबाटै दबाबमा राखेको थियो ।
खेलको २४औं मिनेटमा प्रताप सिंह राईले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै निरज कार्कीले अर्को गोल थपेर टिमलाई अग्रता दिलाए ।
दोस्रो हाफ सुरु भएको केही समयमै अरुण मेचेले पुनः दोस्रो गोल गर्दै टिमको ३–० मा पुर्याए ।
खेलमा फिदिम स्पोर्टिङले पाएको पेनाल्टी अवसर पनि सदुपयोग गर्न सकेन ।
सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेका रोलिङ धुलाबारीका प्रताप सिंह राईले ‘म्यान अफ दि म्याच’ घोषित भएर ट्रफीसहित नगद ८ हजार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा एन पेनाङ मलेसिया र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ ।
१२ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
