नेपालले सोमबार र मंगलबार गरी यूएईविरुद्ध खेल्ने दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेललाई प्रयोगका रूपमा लिएको छ
काठमाडौँ — त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा पहिलो पटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय खेल र नेपालबाट पहिलो पटक दीपेन्द्रसिंह ऐरीको पूर्ण कप्तानी । नेपाल र यूएईबीच हुने ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सम्भवतः यी दुई विषयमा केन्द्रित हुनेछ ।
नेपालले सोमबार र मंगलबार गरी यूएईविरुद्ध खेल्ने दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेललाई प्रयोगका रूपमा लिएको देखिन्छ । दुई महिनाअघि भारतमा भएको ट्वान्टी–२० विश्वकप यता पहिलो पटक यो संरचनामा खेल्न लागेको हो । नयाँ खेलाडीलाई मौका दिएको आधारमा पनि नेपालले यूएईसँगको यस खेललाई नयाँ ट्वान्टी–२० टिम निर्माणका क्रममा हेरेको देखिन्छ ।
यसअघि कप्तानी गर्दै आएका रोहित कप्तानसहित आसिफ शेख, सोमपाल कामी, करण केसी र ललित राजवंशीलाई नेपालको ट्वान्टी–२० टोलीमा राखिएको छैन । आउँदै गरेको विश्वकप क्रिकेट लिग २ को महत्त्वपूर्ण शृंखलालाई केन्द्रित गरेर उनीहरूलाई नेपालको ट्वान्टी–२० टोली बाहिर राखिएको छ । दीपेन्द्रले यूएईसँग नेपालको कप्तानी गर्नेछन् । एकदिवसीय र ट्वान्टी–२० मा फरक कप्तान राख्ने जनाउँदै नेपालले दीपेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको थियो । रोहितले नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५९ खेलमा कप्तानी गरेका थिए ।
रोहितको अनुपस्थितिमा दीपेन्द्रले चेन्नईमा विश्वकपको अभ्यास खेलमा क्यानडाविरुद्ध नेपालको कप्तानी गर्दै विजयी दिलाएका थिए । पाकिस्तान सुपर लिग (पीएसएल) मा इस्लामाबाद युनाइटेडसँग आबद्ध रहेका दीपेन्द्र काठमाडौं आएर नेपालको प्रशिक्षण टोलीमा समावेश भइसकेका छन् । उनको कप्तानीमा नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दुई पटक फाइनल खेलिसकेका छ ।
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । नोभेम्बर–डिसेम्बरमा एनपीएलका खेल कीर्तिपुरमा फ्लड लाइटमा आयोजना भए पनि अन्तर्राष्ट्रिय क्रिकेटमा भने पहिलो पटक बत्ती बालेर खेलाउन लागेको हो । २०२४ को मार्चयता पहिलो पटक कीर्तिपुरमा पुरुष ट्वान्टी–२० अन्तर्राष्ट्रिय हुन लागेको हो ।
‘डेब्यु’ को आशामा सन्तोष र हेमन्त
युवा खेलाडीद्वय सन्तोष र हेमन्त ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ को पर्खाइमा रहेका छन् । सन्तोष पहिलो पटक नेपाली टोलीमा परेका हुन् । हेमन्तले भने २०२४ मा क्यानडाविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरिसकेका छन् ।
हालै भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि यी दुईले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली टोलीको ढोका खोलेका हुन् । देब्रेहाते स्पिन अलराउन्डर सन्तोषले प्रधानमन्त्री कपमा २१ विकेट लिनुका साथै २ सय ६५ रन बनाएका थिए ।
तीव्र गतिका बलर हेमन्तले प्रधानमन्त्री कपमा सर्वाधिक २७ विकेट लिँदै उत्कृष्ट बलरमा चुनिएका थिए । उनको प्रयासमा सुदूरपश्चिम प्रदेश फाइनलसम्म पुगेको थियो । कुनै पनि प्रदेश टोली प्रधानमन्त्री कपको फाइनलमा पुगेको यो पहिलो अवसर थियो ।
ब्याटर कुशल मल्ल र विकेटकिपर–ब्याटर अर्जुन साउदले यूएईको यही शृंखलाबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली टोलीमा पुनरागमन गरिरहेका छन् । आसिफ नरहेको अवस्थामा अर्जुन र लोकेश बममध्ये एकले विकेटकिपरको भूमिका निभाउनेछन् ।
यूएईमा ५ नयाँ खेलाडी
यूएईको १७ सदस्यीय टोलीमा ५ नयाँ खेलाडी समावेश गरिएको छ । यूएईको द नेसनल न्युजले जनाएअनुसार खुजाइमा तान्भिर, अजय कुमार, आकाशदीप नाथ, हरप्रित भाटिआ र अबिब उस्मानीलाई पहिलो पटक यूएई टोलीमा समावेश गरिएको छ ।
सरकारले हालै यूएईमा उल्लेखनीय योगदान गरिरहेकाहरूको राष्ट्रियताका लागि खुकुलो नीति लिएपछि यी ५ खेलाडीलाई यूएईबाट खेल्न बाटो खुलेको थियो । यूएईको आएल ट्वान्टी–२० सहित घरेलु लिगमा खेल्दै आए पनि यसअघि उनीहरूको राष्ट्रिय टोलीबाट खेल्न ढोका खुलेको थिएन ।
नेपाल भ्रमणमा जाने भएपछि खुजाइमालाई पीएसएलबाट फिर्ता बोलाइएको द नेसनल न्युजले जनाएको छ ।
