वैशाख ११ देखि मेयर लिग कप फुटबल

प्रतियोगिता लिग र नकआउट दुवै फर्म्याटमा आयोजना गरिने नगर खेलकुद विकास समितिले जानकारी दिएको छ ।

वैशाख ६, २०८३

एलिना राई

Mayor's League Cup Football from April 11

धरान —  

वराहक्षेत्र नगरपालिकामा चौथो संस्करणको वडास्तरीय ‘मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता’ वैशाख ११ गतेदेखि आयोजना हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिइएको हो ।

प्रतियोगिता लिग र नकआउट दुवै फर्म्याटमा आयोजना गरिने नगर खेलकुद विकास समितिले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार, उपविजेताले १ लाख १ हजार, तेस्रो हुने टिमले ५१ हजार र चौथोले २५ हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई पुरस्कृत गरिनेछ भनेर विधागत उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र अनुशासित टोलीले उचित पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको विजेताले चाँदीको आकर्षक ट्रफी पाउनेछ । रनिङ शिल्ड प्रणालीअन्तर्गत कुनै टोलीले लगातार तीन पटक उपाधि जितेमा ट्रफी स्थायी रूपमा आफ्नो स्वामित्वमा राख्न पाउने नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यले जानकारी दिए।

प्रतियोगितामा नगरपालिकाका ११ वटै वडाबाट एक–एक टोलीको सहभागिता रहनेछ। संयोजक आचार्यका अनुसार स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले तीन वर्षअघि यो प्रतियोगिता सुरु गरिएको हो।

‘खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताका खेलहरू वडा नं ७ देवघाटस्थित वसन्त ऋतु माविको खेलमैदानमा हुनेछन् । पत्रकार सम्मेलनमै गत संस्करणको विजेता वडा नं २ ले ट्रफी आयोजकलाई हस्तान्तरण गरेको थियो भने गोला प्रथामार्फत समूह विभाजनसमेत गरिएको जानकारी दिइएको छ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully