आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई २ का विरुद्ध ४ गोलले पराजित गर्दै पथरीले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
पाँचथर — तेस्रो संस्करणको इलाम गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई हराउँदै मोरङको पथरी–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा रेडहर्ष फुटबल क्लब इलामलाई २ का विरुद्ध ४ गोलले स्तब्ध पार्दै पथरीले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
सुरुबाटै रोचक बनेको खेलमा आयोजक टोलीले सुरुआतमै अग्रता बनाएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै रेडहर्ष फुटबल क्लबका सन्देश खड्काले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन् ।
पहिलो हाफमा अग्रता जोगाएको रेडहर्षले दोस्रो हाफमा पनि दबाब कायम राख्ने प्रयास गरे पनि त्यो अन्तिमसम्म टिक्न सकेन । खेलको अन्तिम समयमा पथरी–११ का सौर्य राउतले जवाफी गोल फर्काएर खेल १–१ को बराबरीमा पुर्याए ।
निर्धारित समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो ।ट्राइबेकरमा पथरी–११ ले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित हात पार्यो । उद्घाटन खेलको ‘म्यान अफ दी म्याच’ पथरी–११ का आशिष लावती भए । प्रतियोगिताअन्तर्गत आइतबार फिदिम स्पोर्टिङ क्लब र झापाको रोलिङ क्लब धुलाबारीबीच प्रतिस्पर्धा हुने आयोजक जनाएको छ ।
वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र विदेशका गरी ८ टिम सहभागी छन । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख र उपविजेताले ५ लाख पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
