आईपीएल फाइनल हेर्ने उत्साहमा कलेज रनका विजेताद्वय

शनिबार उक्त विधामा च्याम्पियन हुँदै कपिलवस्तुका अजय पाण्डे र अनुसिया तण्डुकारले उक्त टिकटमा बाजी मारेका छन् ।

वैशाख ५, २०८३

ध्रुव तुलाधर

College Run winners excited to watch IPL final

What you should know

काठमाडौँ — कान्तिपुर हाफ म्याराथनमा कलेज रन विजेताले यसपालि पाउने पुरस्कार अलि फरक किसिम थियो । ७ किमि दुरीमा हुने कलेज रनको ब्वाइज र गर्ल्स विजेतालाई पुरस्कारमा इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल हेर्ने पूर्ण सुविधाको टिकट थियो । 

शनिबार उक्त विधामा च्याम्पियन हुँदै कपिलवस्तुका अजय पाण्डे र अनुसिया तण्डुकारले उक्त टिकटमा बाजी मारेका छन् । उनीहरूको आतेजाते हवाई टिकटसहित सबै व्यवस्थापन जिम्मेवारी एक्स्ट्रिम इनर्जी ड्रिंक्सले गर्नेछ । दुवै राष्ट्रियस्तरका खेलाडी हुन् तर फरक विधाका । अजय दौडकै खेलाडी हुन् भने अनुसिया पौडीकी । पछिल्लो समय पढाइमा व्यस्त भएकाले अनुसियाले पौडीबाट विश्राम लिएकी छन् । काठमाडौंकी अनुसिया उपत्यकामा शनिबार हुने दौडहरू भने छुटाउदिनन् ।

दुवै विजेता आईपीएल फाइनल हेर्न पाउने कुराले उत्साही छन् । अजय धेरथोर क्रिकेटबारे जानकार छन् भने अनुसियालाई क्रिकेटप्रति रुचि नभए पनि आईपीएल फाइनल हेर्न अवसर खेर जान नदिने पक्षमा छिन् । अनुसिया भन्छिन्, ‘म त परिवारसहित जाने योजना बनाउने छु ।’ 

काठमाडौं बसेर दौडकै प्रशिक्षण लिइरहेका अजयले सुनाए, ‘यो अवसरलाई खेर जान दिन्न भनेर लक्ष्य बनाएको थिएँ । रातिदेखि निद्रा परेको थिएन, दौड जित्न सक्छु कि सक्दिनँ भन्ने लागिरह्यो ।’ 

उनले आफ्नो लक्ष्य पूरा गरे नै, त्यो पनि लगातार दोस्रो पटक जितेर । उनले २५ मिनेट ३५:१४ सेकेन्डमा दुरी पार गर्दै उपाधि जितेका थिए । गत वर्षभन्दा टाइमिङ सुधार्ने उनको लक्ष्य भने पूरा हुन पाएन । अजयले भने, ‘यसपालि रुट अपडाउन थियो, त्यसले गर्दा टाइमिङ सुधार्न सकिएन ।’ गत वर्ष उनले टाइमिङ २१ मिनेट २४:२२ सेकेन्ड थियो । 

अजयलाई चुनौती दिने एनबीएस कलेजका थकेन्द्र शर्मा र भक्तपुर बहुमुखी क्याम्पसका विश्वराम कुँवर दोस्रो र तेस्रो भए । थकेन्द्रले २६ मिनेट १८:४० सेकेन्ड र विश्वरामले २६ मिनेट २९:४५ सेकेन्डमा दौड पूरा गरेका थिए । विश्वरामले गत वर्ष पनि सोही स्थान हासिल गरेका थिए ।

२३ वर्षीय अजयले दुई वर्षअघि नेपालमै आयोजना भएको एसियाली क्रसकन्टी दौडमा यू–२० टिमतर्फ कांस्य पदक जितेका थिए । लुम्बिनी प्रदेश च्याम्पियन रहेका उनले एक साताअघि गोरखामा रोड रेसको उपाधि जितेका थिए । एथलेटिक्सबाट आफ्नो उचाइ छुने सपना पालेका अजय अहिले राष्ट्रिय प्रतियोगिताको तयारीका लागि रंगशालामा प्रशिक्षण गरिरहेका छन् ।

यता अनुसियाको कान्तिपुर हाफ म्याराथनमा पहिलो सहभागिता हो । उनी पौडीकी राष्ट्रिय च्याम्पियन हुन् । १३ औं दक्षिण एसियाली खेलकुदमा पौडीबाट तीन कांस्य जितेकी उनले तीन वर्ल्ड च्याम्पियनसिप र तीन जुनियर वर्ल्ड च्याम्पियनसिपसहित १९ औं एसियाली खेलकुदमा सहभागिता जनाएकी थिइन् । पुतलीसडककी अनुसिया काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा बीबीए अध्ययनरत छिन् । उनले सुनाइन्, ‘पढाइका कारण अहिले मैले पौडीलाई समय दिन पाइरहेको छैन । आफूलाई स्वस्थ राख्न आजकल शनिबार हुने दौडमा भाग लिरहेको हुन्छु । त्यसले गर्दा कलेज रन दौड्ने आँट गरें । सफल पनि भएँ ।’ 

फ्रिस्टाइलकी पौडीवाज अनुसियाले ३४ मिनेट २१:८५ सेकेन्डमा दौड पूरा गरेर उपाधि जितेकी हुन् । उनका निकट प्रतिस्पर्धी वेल्थ इन्टरनेसनल स्कुलकी सजिना रामदामले ३६ मिनेट ३८:०० सेकेन्डबाट दोस्रो र जय मल्टिपल क्याम्पसका सम्झना कुलुङ राई ३८ मिनेट ०७:०० सेकेन्डबाट तेस्रो भए । यस एस्क्ट्रिम कलेज रनमा झन्डै १ हजार प्रतिस्पर्धी थिए । 

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully