हरेक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको रारा ट्रेल रन वैशाख ३० मा हुन लागेको हो ।
जुम्ला — यही वैशाख ३० गते रारा ट्रेल रन आयोजना हुने भएको छ । हरेक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको रारा ट्रेल रन वैशाख ३० मा हुन लागेको हो ।
सेनाले वैशाख ३० गते बिहान १० बजेदेखि ट्रेल रन सुरु हुने जनाएको छ । सेनाको हनुमान ध्वज गुल्मका सेनानी खड्गबहादुर श्रेष्ठले भने, ‘यो प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडीहरु सहभागी गराउने लक्ष्य छ ।’
खेल क्षेत्रमा युवायुवतीको आकर्षण बढाउन, कर्णाली खेल पर्यटनका हिसाबले पनि संभावनायुक्त क्षेत्र भएकोले चिनाउन र खेलाडीहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता हरेक वर्ष भइरहेको छ ।
यो रारा ट्रेल रनले नागरिक सैनिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने उनको भनाइ छ । रारा ट्रेल रन १६ किलोमिटरको दुरीमा हुनेछ । १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका ५० जना महिला र २ सय जना पुरुषहरुले भाग लिनेछन् । यो सँगै १० वर्षदेखि ६० वर्ष उमेर समूहका लागि ५ किलोमिटर रन फर फनसमेत हुनेछ ।
यो पटक खेलाडीको बास र खानपानको व्यवस्थापन होटल व्यवसायीले गर्नेछन् । वैशाख १५ देखि २९ गतेसम्म नाम दर्ता हुनेछ । जसका लागि हनुमान ध्वज गुल्म हुटुमा सम्पर्क गर्नुपर्नेछ । वैशाख २९ र ३० गते बिहानसम्म खेलाडीहरुको स्वास्थ्य परीक्षण भइसक्नेछ ।
नेपाली सेनाले फोटो प्रदर्शनी,खुकुरी नृत्य तथा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुनेछन् । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने नेपाली सेनाले जनाएको छ ।
