फाइनलमा ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई ५ विकेटले हराई तेस्रो पटक उपाधि जित्न सफल भएकाे छ।
What you should know
पर्सा — त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै पीएम कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा भएको फाइनल खेलमा आर्मीले ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै उपाधि उचालेको हो ।
टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ६१ रनको सामान्य योगफल बनायो। सुदूरपश्चिमका अशोक धामीले ४६ बल खेलेर ४३ रन बनाए भने किरण ठगुन्नाले ४२ बलमा ३५ रन जोडे। आर्मीका बलर आकाश चन्दले ९ ओभरमा ३ विकेट लिएर मात्र २१ रन खर्चिए। शाहाब आलमले पनि १० ओभरमा ३ विकेट हात पारे ।
१ सय ६२ रनको सहज लक्ष्य पछ्याएको आर्मीले ३४ ओभर ३ बलमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएर सजिलै जित हात पार्यो। आर्मीका इमान शेखले ८२ बलमा अविजित ४६ रन बनाए भने बसीर अहमदले ५६ बलमा ४५ रनको योगदान दिए।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले ६ ओभरमा २४ रन दिई २ विकेट लिए भने अशोक धामीले ८ ओभरमा २३ रन दिई १ विकेट हात पारे।
आर्मीका बसीर अहमदलाई उत्कृष्ट अलराउन्ड प्रदर्शनका आधारमा ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। उनले ब्याटिङमा ४५ रन बनाउनुका साथै बलिङमा ७ ओभर १ बलमा २ विकेट लिँदै मात्र २५ रन खर्चिए। उनले १ मेडन ओभर पनि फालेका थिए।
यो जीतसँगै बिभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप २०२६ को उपाधि आफ्नो नाममा गर्दै घरेलु क्रिकेटमा आफ्नो प्रभुत्व पुनः प्रमाणित गरेको छ।
सन् २०१७ मा पिएम कमको पहिलो संस्करणमा नेपाल प्रहरीसँगै संयुक्त बिजेता रहेको आर्मीले त्यसपछि सन् २०२१ मा यो प्रतियोगिताको चौथो संस्करणमा उपाधि उचालेको थियो । त्यसयता तेस्रो पटक आर्मीले उपाधि चुमेको हो ।
