आईओएफटीसीले शुक्रबार तीनवटै टोलीलाई ट्रयाकसुटसहित बिदाइ गरेको हो ।
काठमाडौं — इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को नेपाल च्याप्टरले ३ छुट्टाछुट्टै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भाग लिने नेपाली टोलीको बिदाइ गरेको छ ।
आईओएफटीसीले शुक्रबार तीनवटै टोलीलाई ट्रयाकसुटसहित बिदाइ गरेको हो ।
२४ देखि २६ अप्रिलसम्म जापानमा हुने जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका प्रवीण श्रेष्ठ, सन्देश अधिकारी र गणेशबहादुर खड्काले प्रतिस्पर्धा गर्ने छन् । यो प्रतियोगिताको टोली प्रमुखमा गिरिबहादुर सुनार छन् । सुनार नेपाल च्याप्टरका महासचिव हुन् ।
यस्तै, २ देखि ३ मेसम्म हुने मलेसिया ओपन तेक्वान्दोमा सन्दीप न्यौपानेले भाग लिने छन् । अफिसियलमा दिवाकर केसीले भाग लिने छन् ।
नेपालका भिजन तामाङ, सन्दिप बस्नेत, आयुश बोहराले २ देखि ५ मेसम्म चीनमा हुने हाइनान अन्तर्राष्ट्रिय ओपन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । इन्द्रराज खड्का अफिसियलको रूपमा सहभागी हुने छन् ।
सबै खेलाडी र अफिसियललाई आईओएफसीटीका अध्यक्ष मीनप्रसाद खनाल र पदाधिकारीले बिदाइ गरेका हुन् ।
अमेरिकामा मुख्यालय रहेको आईओएफसीटीले गत पुसमा २५औं वार्षिकोत्सवको अवसरमा नेपालमा १५औं संस्करणको आईओएफसीटी प्रतियोगिता गरेको थियो । अब १६औं संस्करण नोभेम्बरमा अस्ट्रेलियाको मेलवर्नमा गरिनेछ ।
